खेलाडीलाई प्रदेश प्रमुखको सम्मान


 


विराटनगर, चैत  ९

विराटनगरमा हिजो सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसीपको उपविजेतामा सीमित नेपाली राष्ट्रिय टोलीलाई आज विराटनगरमा सम्मान गरिएको छ । प्रदेश १ का प्रमुख प्राडा गोविन्द तुम्बाहाङको सरकारी निवासमा खेलाडी तथा अफिसियललाई सम्मान गरिएको हो ।

सो क्रममा तुम्बाहाङले प्रदेशमा अन्र्तराष्ट्रिय प्रतियोगिता हुनु गौरवको विषय भएको बताउनु भयो । चौथो पटक उपाधि विमुख बनेको नेपाली टोलीका सदस्यहरुलाई खेलमा हार जित हुने भएकाले निराश नहुन उहाँले आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘हाम्रो टोलीले समग्र चार खेलमै अनुशासनको परिधीभित्र रहेर उच्च प्रर्दशन गरेको छ । त्यसमा प्रदेश एक सन्तुष्ट रहेको छ । खेलमा जित हार स्वभाविक हो ।’ यसप्रकारको प्रतियोगिता आगामी दिनमा पनि आयोजना गर्नुपर्नेमा जोडदिदैं प्रमुख तुम्बाहाङले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रदेशमा अन्र्तराष्ट्रियस्तरको फुटबलको वातावरण बनाउन आग्रह गर्नु भयो । हिजो शहिद रङशालामा सम्पन्न उपाधि भिडन्तमा घरेलु टोली नेपाललाई भारतले ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्