दिल्ली क्यापिटल्सले नेपालका सन्दीप लामिछानेलाई किन मौका दिएन ?


 


काठमाडौँ । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले गत सिजनको आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सका लागि पछिल्लो तीन खेल खेल्ने मौका पाएका थिए। उनले तीन खेलमा ६.३३ को इकोनोमीमा बलिङ गर्दा ५ विकेट लिएका थिए।

त्यसपछि सन्दीपले विश्वका ७ टी–२० लिग खेल्दै तहल्का मच्चाए। उनले आइपिएल पछि टी–२० का ३२ खेल खेल्दा ६.८८ को इकोनोमीमा बलिङ गरेका थिए। ती खेलमा सन्दीपको औषत १९।६४ थियो। यसरी विश्वका टी–२० लिगमा धुम मच्चाएका सन्दीप यस सिजनको आइपिएलमा दिल्लीले पहिलो रोजाइमा खेलाउने क्रिकेट पण्डितहरुले विश्लेषण गरेका थिए। तर दिल्लीले सन्दीपलाई सुरुवाती दुई खेलमा मौका दिएन।

मुम्बई इन्डियन्सविरुद्धको पहिलो खेलमा मौका नपाएका सन्दीपले मंगलबार चेन्नई सुपरकिंग्सविरुद्धको खेलमा पनि पहिलो रोजाइमा स्थान पक्का गर्न सकेनन्। दिल्लीले चेन्नईविरुद्धको खेलमा चार जना विदेशी खेलाडीको कोटा समेत प्रयोग गरेन। दिल्लीले तीव्र गतिका बलर ट्रेन्ट बोल्डको स्थानमा अमित मिश्रालाई खेलाएको थियो। अर्का स्पिनर राहुल टेवाटियालाई मौका दिएर लोअर मिडल अर्डर ब्याटिङको विकल्पमा राखेको थियो।

मिश्रालाई चेन्नईका ओपनर सेन वाट्सनविरुद्ध राम्रो रेकर्ड भएका कारण राखिएको थियो। मिश्राले वाट्सनलाई १० टी–२० खेलमा चार पटक आउट गरेका थिए। मंगलबार पनि वाट्सनविरुद्ध मिश्रा सफल भए। उनले वाट्सनलाई ४४ रनमा आउट गरेका थिए। तर मिश्राको इकोनोमी ८.७५ रह्यो। जबकी दिल्लीको पिच स्पिनरका लागि राम्रो मानिएको छ। दिल्लीका स्पिनरले सोचेअनुरुप खेल देखाउन नसक्दा चेन्नईले ६ विकेटको जित निकालेको छ।

दिल्लीले सन्दीपलाई नखेलाउनुको कारणबारे क्रिक इन्फोले दुई जना विश्लेषकलाई सोधेको छ। ब्राड हजले सन्दीपलाई दिल्लीले टिममा मिसु गरेको बताएका छन्। उनले सन्दीप विपक्षीका लागि खतरा बन्न सक्ने बताउँदै भनेका छन्,उनी अमित मिश्रा जस्तै विपक्षी टिमका लागि खतरा बन्न सक्थे।

अर्का विश्लेषक दीप दासगुप्ताले सन्दीपले दिल्लीको पिचमा राम्रो बलिङ गर्न सक्ने बताएका छन्। जडेजा जस्तै लामिछानले पनि राम्रो गर्न सक्थे,उनको भनाइ छ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्