मोरङका पत्रकारहरुले जिल्ला प्रशासन घेरे



विराटनगर। मोरङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ मोरङकोको अगुवाईमा प्रदेश पत्रकार महासंघ समेतको सहभागीतामा धर्ना दिएको हो ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाए पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन् । पत्रकारहरुले धर्ना दिँदै तत्काल विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजी माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको मुल गेटमा ९ः३० बजेदेखि १ घण्टासम्म धर्नामा बसेका हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रको आब्हानमा बिहीबार प्रदेश १ का सबै जिल्लाहरुमा पत्रकार जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नामा बसेका छन् । विद्युतीय कारोवार ऐनको आधारमा समाचार लेखेकै बिषयलाई लिएर पत्रकारलाई पक्राउ गर्ने तथा धडपकड गर्ने काम भएको नपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेलले बताउनुभयो ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनासर्त रिहाइको मागलाई लिएर आन्दोलित हुनु परेको महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्