रुँदै माफी माग्दै धुर्मुस–सुन्तलीले चितवन छाडे, ‘के रंगशाला बन्दैन अब’ ?


 


काठमाडौ चितवनमा बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विवाद बढेपछि धुर्मुस सुन्तली फाउण्डेशनले माफी मागेको छन् । विवादका बेला आफ्ना अभिव्यक्तिले कसैको मन दुखेको माफ गरिदिन आग्रह गरिएको छ । साथै उनीहरुले अनुकूल वातावरण नबनेको भन्दै काम समेत रोकेका छन् ।

रंगशालाको दक्षिणतर्फ पर्ने बाटो चौंडा गर्ने विषयलाई लिएर केही स्थानीयले रंगशालाको जस्तापाताको बार भत्काइदिएका थिए । त्यसपछि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्यो । घटनापछि फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तली काठमाडौंबाट चितवन पुगिन् । त्यसपछि उनले पत्रकारमाझ घटनामा संलग्नलाई ‘देशद्रोही’, ‘अपराधी’ को संज्ञा दिइन् ।

विवाद सुल्झाउनतर्फ नलागि बाटोको मुद्दा उठाउनेलाई देशद्रोही भनेको भन्दै केहीले सुन्तलीको आलोचना गरे । यस प्रकरणमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’का बक्तत्वबाजी पनि ‘इमोस्नल ब्लाकमेलिङ’ जस्तो भएको स्थानीयको भनाइ छ । ‘हामीलाई जबर्जस्त अपराधीकरण गर्न खोजिएको छ, हामी पनि चाहन्छौं रंगशाला बनोस् भनेर तर, बाटोको समस्या पनि समाधान गरौं’, एक स्थानीयले भने ।

घटनामा पक्राउ परेका स्थानीयलाई रिहाइ र बाटोको समस्या हल गर्न माग गर्दै प्रभावित स्थानीयले भरतपुर महानगरपालिका वडा नम्बर १६ को कार्यालय परिसरमा धर्ना शुरु गरेका छन् । त्यसपछि फाउण्डेशन अपिल जारी गरी अनुकूल वातावरण बनाइदिन आग्रह गर्दै काम रोकेको छ । धुर्मुस र सुन्तली काठमाडौं फर्किएका छन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्