सहयोग जुटाएर मुटुको उपचार


 


mthu

आर्थिक अभावमा मुटु रोगको उपचार गराउन नसकेका पर्वतका एक व्यक्तिले जिल्लाबासीको सहयोगमा उपचार पाएका छन्।
पर्वतको कुश्मा नगरपालिका– ७ दुर्लुङका ५७ वर्षीय मिठु गिरीको मुटुको दुई भल्बले काम गर्न छोडेपछि उनी बिरामी परेका थिए। जिल्लाबासीको सहयोगमा शहिद गंगालाल हृदय रोग अस्पताल बाँसबारीमा उनको मुटुको दुई ओटा भल्ब फेरिएको हो।

मुटुको भल्ब फेर्न लाखौं रकम खर्च हुने भएपछि उनी आर्थिक अभावले उपचार गराउन सकिरहेका थिएनन्। तर, नेकपा एमाले पर्वत–काठमाडौं सम्पर्क मञ्चको सक्रियतामा आर्थिक सहयोग जुटाएर उनको मुटुको भल्ब फेर्ने व्यवस्था मिलाएको मञ्चका अध्यक्ष कृष्णबहादुर गदालले बताए।

आर्थिक अभावमा परिवारको दैनिकी धान्ननै समस्या व्यहोरिरहेका गिरी मुटुको भल्ब फेर्नु पर्ने कुरा चिकित्सकबाट सुनपछि अत्तालिएका थिए। उनलाई उपचारमा सबै जिल्लाबासी मिलेर सघाउन सम्पर्क मञ्चले देशविदेशमा बस्ने जिल्लाबासीलाई आह्वान गरेपछि उनको उपचार खर्च जुटेको थियो।

गिरीको उपचारमा पर्वत घर भई बेलायत बस्ने विनोद पुरी, अमेरिका बस्ने रोहित गुरुङ, दशनामी समाज कुश्मा, दशनामी समाज पोखरा, चुत्रे टोल सुधार समिति दुर्लुङ र काठमाडौं बस्दै आएका दुर्लुङका अशोक पौडेललगायतका संघसंस्था तथा व्यक्तिले सहयोग रकम प्रदान गर्ने र संकलन गर्ने कार्य गरेकोे मञ्चका अध्यक्ष गदालले बताए।

‘हाम्रो आह्वान र विभिन्न सहयोगी हातहरुको सहयोगमा विरामी गिरीको मुटुको दुई भल्ब फेर्ने कार्य सफल भयो,’ उनले भने, ‘सहयोग जुटाएर बिरामीको उपचार गराउन पाउँदा खुसी लागेको छ।’

मुटुको भल्ब फेरिएका गिरी हाल स्वास्थ्य लाभ गरिरहेको र उनको फलोअप जाँच पनि बाँसवारी अस्पतालमा भइरहेको उनले बताए।

 

प्रकाशित मिति: ५ जेष्ठ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्