उपविजेता महिला टिमलाई प्रदेश १ सरकारको सम्मान


 


विराटनगर, साउन ७

विराटनगरमा चार महिना अघि सम्पन्न भएको पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रदेश १ सरकारले मंगलबार नगदसहित सम्मान गरेको छ ।

विराटनगरमा एक कार्यक्रम आयोजना गरेर प्रदेश सरकारले साफ उपविजेता टोलीलाई जनही १/१ लाख रुपैयाँ नगदले सम्मानित गरेको हो । सम्मानित हुनेमा २० खेलाडी, प्रशिक्षक र अफिसियल रहेका छन् । सम्मानित हुने खेलाडीहरूलाई प्रमाण पत्र र नगदसहित प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गरे ।

सम्मान कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री राईले खेलकुद क्षेत्रलाई प्रदेशसरकारले उच्च प्राथामिकता राखेर अगाडि बढेको बताए । अन्य प्रदेशको तुलनामा प्रदेश १ ले खेलकदु क्षेत्रमा सबैभन्दा बढी बजेट बिनायोजन गरेको जानकारी दिँदै उनले फुटबलको माध्यमबाट खेल क्षेत्रको विकास गरेर अगाडि बढ्ने बताए । ‘प्रदेश सरकारले खेलकुद क्षेत्रलाई छायामा पर्न दिँदैन,’ मुख्यमन्त्री राईले भने, ‘खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकार सधंैभरी लागि पर्नेछ ।’

सामाजिक विकास मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा ८ औं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो । प्रदेश सरकारले साफ विजेता भएको खण्डमा महिला टिमका सदस्यलाई जनही २ लाख दिने घोषणा गरेको थियो । तर, उपविजेता बनेपछि प्रदेश सरकारले १/१ लाख रुपैयाँ मात्रै दिएको हो ।

यस्तै सोमबार नेपाली टोलीलाई विराटनगर महानगरपालिकाले पनि जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो । फागुन २८ देखि चैत ८ सम्म विराटनगरको सहिद रंगशालामा भएको पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिम उपविजेता भएको थियो । नेपाली टिम भारतसँग ३–१ गोलले पराजित हुँदा भारत पाँचौं पटक साफ च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति: ७ श्रावण २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्