इनरुवामा एकै परिवारका ७ जनासहित दजनौंमा डेगुं


 


इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केहिसाता अघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नग भित्र ११ जनामा डेंगुको संक्रमण पाइएको पुष्टि गरेको हो ।

इनरुवा अस्पतालको आकस्मिक कक्षले भने डेंगु संक्रिमत सङ्ख्या बढ्दो क्रममा रहेको जनाएको छ । आकस्मिक कक्षमा कार्यरत सिनियर अहेव गुणानन्द झाका अनुसार नमुना परीक्षणका क्रममा २० जना भन्दा बढीमा डेंगुको संक्रमण फेला परिसकेको छ ।

इनरुवाको वडा नम्बर ४ को एकै परिवारका ७ जनामा डेंगुको संक्रमण भेटिएको छ । सन्तोष गुप्ताको परिवारमा डेंगु फेला परेको अस्पतालले जनाएको छ । ज्वरो आएर उपचारकालागि अस्पताल आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेकाले संक्रमित सङ्ख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ ।

नगरभित्र एकसाथ डेंगुका बिरामी फेला परपछि इनरुवा नगरपालिकाको कार्यालयले आपतकालित बैठक समेत डाकेको छ । कार्यपालिकाको बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेंगु नियन्त्रण तथा प्रचारप्रसार समिति समेत गठन गरेको छ ।

निरौलाका अनुसार नगरमा प्राप्त जानकारी अनुसार इनरुवा ४ मा ७ जना संक्रमित भेटिएका छन् । त्यसै गरी वडा नम्बर ५ मा ४ जना र वडा नम्बर ३ मा १ जनामा डेंगु संक्रमण फेला परेको छ । संक्रमित सङ्ख्या बढी रहेको भन्ने बुझिन आएकाले तथ्याङक सङ्कलन र रुजु गर्ने कार्य जारी रहेको निरौलाले बताए ।

भाइरसका कारण संक्रमण फैलने भएकाले बैठकको निर्णय अनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नुका साथै जनचेतना फैलाउन समितिले तत्कालैबाट काम थाल्ने निरौलाले जानकारी दिए । इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी अलर्टमा रहने गरी हेल्प डेस्क राख्ने तयारी समेत थालिएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्