रविको बयान भोली मात्र, आज प्रहरी हिरासतमै


 


काठमाडौँ, भदौँ ८

आत्महत्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुर्याएपछि अध्ययन गरेर जिल्ला अदालतमा यी तीनबिरुद्ध मुद्दा दर्ता गरिएको हो ।

आज दिउँसो यी तीनबिरुद्ध मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । मुद्दा चलाइएका रवि लामिछानेसहित तीन जनाको थुनछेक बहस चितवनका मुख्य न्यायाधीश हेमन्त रावलको इजलासमा हुने भएको छ । बहस अघि उक्त इजलासमा आज प्रतिवादी अस्मिता कार्कीको बयान सकिएको छ । भोली रवि लामिछाने र युवराज कँडेलको बयान हुनेछ ।

बयान सकिएपछि भोली नै बहस हुनेछ । सम्भवत भोली नै थुनछेकको आदेश आउने छ । रविसहित तीनै जनालाई चितवन जिल्ला प्रहरीको हिरासतमा लगिएको छ । चितवन जिल्ला सरकारी वकिल कार्यालयले आजै मात्र जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो जसमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना माग गरिएको छ ।

थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ । पत्रकार सालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्