लगानीकर्तालाई उत्साहित गर्ने कार्यक्रम ल्याउन आग्रह


 


रुपन्देही, ७ असोज

उद्योगी–व्यवसायीले मुलुकमा लगानीको वातावरण बन्दै गएकाले लगानीकर्तालाई उत्साहित गर्ने नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले उद्योग र पर्यटनका क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तीनै तहका सरकारलाई सुझाव पनि दिएका छन् ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको  ६६औँ साधारणसभामा सोमबार उद्योगी\व्यवसायीले योगदानमा आधारित सामाजिक सुरक्षाकोष कार्यान्वयनका लागि व्यावहारिक कठिनाइ देखिएकाले उद्योग–व्यवसायलाई वर्गीकरण गर्न सुझाव दिए ।

सभाको उद्घाटन गर्दै प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सरकार र निजी क्षेत्र मिलेर समृद्धिको यात्रामा सँगै अगाडि बढ्न जरुरी रहेको बताए। “निजी क्षेत्रले काँध नहाले सरकार अगाडि बढ्न सक्दैन, त्यसैले सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ”, उनले भने । रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर तथा सुनवलको चिनी मिल र बुटवलको धागो कारखाना सञ्चालनका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग पहल गरिरहेकाले ती उद्योग सञ्चालनपछि रोजगारी सिर्जना हुने विश्वास उनले व्यक्त गरे ।

“कानूनको पालना नगर्ने परिपाटीले निर्माणका काममा ढिलाइ हुदा हामीलाई पीडाबोध भएको छ, यसबारे सङ्घलाई जानकारी गराएका छौँ”, उनले भने, “अब समयमा योजना सम्पन्न नगर्नेहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्छौँ ।”

सो अवसरमा प्रदेशसभा सदस्य निर्मला क्षेत्री र कृष्ण न्यौपानेले विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले सरकारले कानून तर्जुमा गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल नगर्ने गरेका कारण कार्यान्वयनमा समस्या भएको औँल्याए । महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भैरहवाको गौतमबुद्ध विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रको औद्योगिक तथा पर्यटकीय विकासमा फड्का् आउने भएकाले त्यसलाई लक्ष्य गरेर लगानीको वातावरण बनाउन प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गरे ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमालले सरकारका योजना र कार्यक्रममा निजी क्षेत्रलाई समेट्न आग्रह गरे । उनले प्र्रदेश नं ५ को राजधानी रुपन्देही र नामकरण लुम्बिनी राख्न उद्योगी व्यवसायी एकमत रहेकाले छिटो टुङ्गो लगाउन प्रदेश सरकारसँग माग गरे । कार्यक्रममा महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारी, प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठ, सङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठलगायतले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।

साधारणसभाका अवसरमा सङ्घका प्रेस सल्लाहकार डायलसन अधिकारीलाई कदरपत्रसहित मरणोपरान्त सम्मान गरियो । स्व अधिकारीकी धर्मपत्नी चन्दालाई रु पाँच लाख पाँच हजार ५५५ सहित कदरपत्रले सम्मान गरिएको हो ।

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्