रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता
रुपन्देही, १ असार । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ।
न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत् राख्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने आदेश गरेको हो। यो आदेशसँगै जीबी राई, कुमार रम्तेललगायत अन्य आरोपितहरू पनि ती अभियोगबाट मुक्त भएका छन्।
यसअघि जिल्ला अदालत कास्की र पर्साले पनि यस्तै अभियोग फिर्ता लिएका थिए। अब लामिछानेविरुद्ध यी दुई अभियोग काठमाडौंमा रहेको मुद्दामा मात्र बाँकी छन् भने सहकारी ठगीका मुद्दा पाँचवटै अदालतमा विचाराधीन छन्।
रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रकाश मरासिनीले संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पुष्टि हुने पर्याप्त प्रमाण नपुगेकाले अभियोग फिर्ता लिइएको बताए। उनले महान्यायाधिवक्ता कार्यालयको परिपत्रअनुसार उक्त निर्णय गरिएको जानकारी दिए।
प्रकाशित मिति: १ असार २०८३, सोमबार











