कर्णाली प्रदेशको बजेट ३५ अर्ब ३९ करोड, ऊर्जा, कृषि र पर्यटनमा विशेष प्राथमिकता



सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै ऊर्जा, जलस्रोत, कृषि तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न नयाँ कार्यक्रम समेटिएको बताए।

प्रस्तुत बजेट चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो। चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार रुपैयाँ अर्थात् कुल बजेटको २४.३१ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५८.६१ प्रतिशत बजेट छुट्याइएको छ।

त्यसैगरी वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले आन्तरिक आयबाट ८५ करोड पाँच लाख ९० हजार रुपैयाँ, चालु आर्थिक वर्षमा खर्च नभई बचत हुने अनुमानित छ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ परिचालन गर्ने जनाएको छ।

संघीय सरकारबाट राजस्व बाँडफाँटअन्तर्गत १० अर्ब ६६ करोड ५० लाख ४९ हजार रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट १० अर्ब ६३ करोड २३ लाख रुपैयाँ तथा सशर्त अनुदानबाट पाँच अर्ब ६७ करोड २५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै, आगामी आर्थिक वर्षमा समपूरक अनुदानतर्फ ६६ करोड ७८ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ४८ करोड ५६ लाख रुपैयाँ स्रोत परिचालन गरिने जनाइएको छ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्