पवन सारडा : सफल उद्योगीदेखि संविधान निर्मातासम्म


 


जीवन यात्रा

छोराछोरीले आँप खाने रहर गरे अभिभावकले के गर्लान् ? एकदमै स्वाभाविक उत्तर हो, आँप किनिदिन्छन् । तर, पवन सारडाको जीवनमा कथा बेग्लै छ । आँप खान मन गरेर जुन बगानमा छिर्दा उनले लखेटिनुपर्यो त्यसको केही दिनमै उनका वुवाले त्यही बगानसहितको जग्गा नै किनिदिए । औसत नेपालीले अभावमा बाल्यकाल बिताउने समाजमा पवनको अवस्था के थियो भन्ने दर्शाउन यही एउटा दृष्टान्त काफी हुन्छ ।

आफ्नो जमानाको कहलिएको उद्योगपतिको छोरो, उत्तिकै सफल र चर्चित व्यापारी पुस्ताको नाति, मधेशमा सयौं विघा जमिनको हकदार परिवारको सन्तान, कस्तो होला ? यो वर्णन सुन्नासाथ आँखामा नाच्न आउने स्वाभाविक दृश्य कुनै ठाँठबाँठवाला व्यक्तिको हुन्छ । तर, विराटनगर निवासी उद्योगी पवन सारडालाई देख्ने, भेट्ने र बुझ्नेहरुका लागि यो कल्पना ठीक विपरित भइदिन्छ । हुन त उनी दर्जनभन्दा बढी उद्योगका मालिक हुन् । नेपालका चर्चित र सफल उद्योगीहरुको नाम लिँदा पहिलो लहरमै आउने नाममा उनको पनि पर्छ । तर, शुद्ध उद्योगीको दायरामा मात्रै उनको परिचय खुम्चिएको छैन । उद्योगी व्यवसायीको हकहित र नेपाली नीजि क्षेत्रको उन्नयनका लागि निरन्तर लडिरहेको, बोलिरहेको र भिडिरहेको अवस्थामा पवनको उपस्थिति सशक्त छ ।

त्यसैले उनले कहिले मोरङका उद्योगी व्यवसायीहरुको सफल नेतृत्व गरे, कहिले देशैभरीका उद्योगी व्यवसायीको हकहित मुलुकको संविधानमै निश्चित गर्न संविधानसभामा प्रभावकारी भूमिका निर्वाह गरे । अहिले पनि कहिले विद्युत सेवाको स्तरवृद्धिका लागि प्रतिनिधिमण्डल लिएर अनि कहिले चर्को व्याजदरबाट व्यापारीलाई बचाउन माग गर्दै सरकारसँग पौठेजोरी खोजिरहेका हुन्छन् । ज्ञापन पत्र र मागपत्र लिएर विभिन्न निकाय धाइरहेका हुन्छन् ।

      ............                   

उद्योग व्यवसायको क्षेत्रमा एकछत्र साम्राज्य फैलाउन सफल व्यक्तिलाई यसरी ‘सर्वजन हिताय’ का निम्ति आफ्नो कामधन्दा छोडेर लाग्न र ‘झञ्झट’ ब्यहोर्न के ले प्रेरित गर्छ ? ‘सामाजिक उत्तरदायित्वको बोधले’, देशकोन्यूजसँग यसै साता लामो कुराकानी गर्दा पवनले भने ‘आफ्नो कारोबारको चौघेरोमा मात्रै सिमित हुन मलाई मेरो सैद्धान्तिक विश्वासले पनि दिँदैन । त्यसैले म सबैको हितका निम्ति लडिरहेको हुन्छु ।’ विराटनगरमा धर्मशाला निर्माणदेखि अनेक सामाजिक काम व्यापारीहरुको त्यही उत्तरदायित्वबोधले सम्भव भएको उनको बुझाइ छ । उनलाई लाग्छ, उनको हुर्काइ प्रक्रिया, पारिवारिक संस्कार र उनको जीवन भोगाइको एकमुष्ठ परिणाम नै उनको जीवन दर्शन हो ।

पवन सारडाको लहानस्थित घरभन्दा दुई किलोमिटर टाढा दुरीमा थियो स्कुल । उद्योगी परिवारको घर । त्यसैले घरभरी त्यो बेलाका एक से एक गाडी उपलब्ध थिए । साइकल पनि प्रशस्तै थिए । तर, उनका बुवा दुलीचन्द सारडा सिधै भन्थे ‘मान्छेहरु धेरै टाढा हिँडेरै जान्छन्, त्यति दुईकिलोमिटर त तिमीले हिँडेरै आउने जाने गर्नुपर्छ ।’ बुवाको त्यो कुराको महत्व उनको बालमस्तिष्कले ठम्याउन सक्दैन थियो । साथीभाइसँग रमाउँदै स्कुल जान–आउन पाउँदा उनी फुरुंग पर्थे । हिँडेर आउजाउ गर्दा बाटोमा अर्काको बारीको फलफूल चोर्ने, कसैको करेसाबारी बिगारिदिने अनेकौं चकचक गर्ने बालसुुलभ बिझ्याइँ उनले सिके ।

त्यही क्रममा एकदिन उनी स्थानीय पद्मनारायण चौधरी ( जो पूर्वमन्त्री पनि हुन्) को आँप बगानमा छिरे । ढुंगाले हानेर आँप झार्दै थिए, बगानको चौकीदारले देखिहाले । ती चौकीदार पनि लर्तरा कहाँ थिए र ! आँप चोर्न बगान छिरेका पवनलाई लखेट्न थाले । सात–आठ किलोमिटर टाढासम्म खेदे । तर, समात्न सकेनन् । खेतैखेत भागेर स्याँस्याँफ्याँफ्याँको अवस्थामा पवन घर पुगे । शरीरभरी खेतबारीका हिलो टाँसिएको थियो ।

वुवाले सोधे ‘किन यसरी दौडेको ? हिलैहिलो कसरी भयौ ?’

उनले ढाँटेनन् ‘स्कुलबाट फर्किँदा आँप चोर्न पसेको, चौकीदार दाईले लखेटे ’

छोराको कुरा सुनेर वुवा मुसुक्क हाँसे मात्रै । केही दिनपछि उनलाई थाहा भयो , उनी आँप चोर्न पसेको त्यो बगान नै वुवाले किनिदिएछन् । ‘अहिले पनि त्यो आँप बगानको जमिन मेरै नाममा छ लहानमा’, उनले सम्झिए ‘यतिबेला बुझ्दैछु बुवाले त्यसबेला हिँडेर स्कुल जान लगाउँदा मैले यो समाजको धेरै कुरा बुझ्ने मौका पाएको रहेछु । व्यक्तिगत रुपमा अभाव भोग्न नपरे पनि अभाव, सामाजिक समस्याहरु बारे सानैमा जानकार भएको रहेछु ।’ यसो भनिरहँदा उनको अनुहारमा आफ्ना दिवंगत पिताप्रति कृतज्ञताको गहिरो भाव छचल्किएको थियो ।

               .................                

उनको हजुरबुवा पुस्ता आँप चोर्थे । एकदिन पूर्वमन्त्री पद्मनारायण चोधरी ढुंगा हिर्काउने । बग्ौंचा हेरचाह गर्नेले खेदाए । ८ किलोमिटर भागें । घरमा आएँ, बुबालाई भने, बुवाले आँप बगान नै किनिदिए । अहिले पनि मेरै नाममा छ , त्यो जग्गा ।

२०१७ सालमा सिरहाको लहानमा जन्मिएका उनको विद्यालय तहको शिक्षादिक्षा त्यहीँको पशुपति माध्यमिक विद्यालयबाट भयो । कक्षा सातसम्मका ज्यादै उम्दा विद्यार्थीमा गनिने पवनमा जब खेलकुदको रस बस्यो, उनले पढाइभन्दा उतै बढी ध्यान लगाए । बिहान ६ बजेदेखि सुरु हुने स्कुल ११ बजे सकिन्थ्यो । ‘११ बजे स्कुलबाट फर्केपछि मैले व्यापारको काममा सघाउनुपथ्र्यो ’, उनले भने ‘त्यहीबेलादेखि नै व्यापार व्यवसायमा रुचि बढ्दै गयो ।’

उनको परिवारले २०१५ सालमै लहानमा पशुपति राइस मिल स्थापना गरेको थियो । त्यो क्षेत्रकै पहिलो उद्योग थियो । त्यसो त आधुनिक लहानको जग हाल्ने पनि उनकै परिवार हो । ‘लहान नगर बसाउने नै हाम्रो ठूलोबुबा हो , हाम्रै परिवारले नै सहर बसाएको हो’, उनले भने ‘त्यसबेला हाम्रो कपडाको व्यापार, सुनचाँदी, खाद्यान्न , पेट्रोलपम्प , कपडाको व्यापार जनकपुरदेखि राजविराजसम्मै थियो ।’ उनीसँग सुन ३ सय रुपैयाँ तोलामा बेचेको अनुभव पनि छ ।

राणाकालमै नेपालमा आएर व्यापार थालेका थिए उनका हजुरबुबवाले । भारतीय भूमिमा व्यापार गरिरहेका हजुरवुवालाई हनुमाननगरमा तत्कालीन सेनाका कर्नेलले यता बोलाए । उनले नै फेसिलेट पनि गरे । त्यो बेला विराटनगर र रंगेली जस्ता सहर विकसित भइसकेका थिएनन् । राजजिवराज पनि सहरका रुपमा उदाएकै थिएन । त्यसैले लहानलाई सहरका रुपमा विकास गर्न उनका परिवारका अग्रजले भूमिका गरे । बैंक स्थापना गर्न पहल गर्ने मात्र होइन, ५ वटा राइस मिल पनि खोलेका थिए । आजभन्दा ५० वर्ष पहिले पहिले चिनी मिल थियो लहानमा, त्यो पनि सारडा परिवारकै थियो ।

भनिन्छ, आवश्यकताले आविष्कार गर्छ । उनको परिवारको औद्योगिक छलाङमा पनि त्यस्तै भयो । उत्साहसाथ लहानमा उद्योगहरु स्थापना भएको थियो । तर, विद्युत, बाटो तथा अन्य पूर्वाधारको विकास भने पटक्कै थिएन । विराटनगर भने औद्योगिक सहरका रुपमा स्थापित हुँदै थियो । यो २०३२–३३ सालताकाको कुरा हो । ‘त्यसैले हामी विस्तारै विराटनगरतिर आयौं ’, पवनले भने ‘त्यसबेला यता खाद्य उद्योगहरु मात्रै धेरै थिए । हामीले नै खाद्यबाहेकको उद्योग स्थापना गरेका हौं ।’ उनका अनुसार एभरेष्ट डण्डी , सबैभन्दा पहिले यहाँको औद्योगिक करिडोरमा स्थापना भएको खाद्य बाहेकको उद्योग थियो । त्यसबेला कि कटहरी, कि जोगबनीतिर मात्रै उद्योगहरु थिए । ‘ यो करिडोर (विराटनगर–इटहरी) मा हामीले सबैभन्दा पहिले उद्योग स्थापना गरेको हो’, उनले भने ।

………..

उद्योगी–व्यापारी भन्ने बित्तिकै केवल नाफाका लागि मरिहत्ते गर्ने प्राणी हो भन्ने भ्रम सर्वसाधारणमा मात्रै छैन, मुलुकको नीति निर्माण गर्ने तहसम्मै व्याप्त रहेको दुखद अनुभव पवनसँग छ । ‘संविधानसभामा नेपालको नीजि क्षेत्रका बारेमा विषयहरु उठान गर्दा धेरै सभाषदमा भ्रम देखियो’, उनले अनुभव सुनाए ‘उहाँहरु उद्योगी व्यापारी भनेको शोषक वर्ग हो भन्ने भ्रममा अझै पनि देखिनुहुन्छ । एकैपटक पनि उद्योगको समस्या नबुझेकाहरुका कारण यस्तो न्यारेटिभ्स बनेको हो ।’

पवनको विगत नजान्नेहरुले उनको गौरवलाग्दो पृष्ठभूमि थाहा नपाएका पनि हुनसक्छन् । व्यवस्थापन संकायमा स्नात्तकसम्म अध्ययन गरेका उनी २०३६ सालमा बहुदल, निर्दलको चुनावी प्रक्रियामा बहुदलतिर लागेर अभियानमा लागेका योद्धा पनि हुन् ।‘हाम्रो कपडा पसलबाट कुट निकालेर बहुदल पक्षीय स्लोगान बनाउँथे ’, उनले सम्झिए ‘अनि त्यो सामग्री प्रचार गरिन्थ्यो । त्यहीबेला मलाइ प्रहरीले समात्यो ।’ यो बहुदल र निर्दलको चुनाव अघि को कुरा थियो । उनलाई प्रहरीले समातेर जब थुन्यो, जिल्लाका ठूला व्यापारीको छोरा हो भन्ने कुरा अञ्चलाधिशसम्म पुग्यो । ‘मलाई प्रचारमा नहँिडेको भन्नु, कागज गर्नु भन्यो’, उनले भने ‘मैले मानिनँ ।’ अन्ततः उनलाई छोड्यो प्रहरीले । २०४६ मा काँग्रेसको लहान नगर समितिको कोषाध्यक्ष भएर पनि उनले काम गरे ।

त्यहीबेलासम्ममा विराटनगरमा वायर, रोलिङ , सोलभेन्ट लाइसकेको सारडा परिवारले उनलाई विराटनगर गएर उद्योगहरु सम्हाल्ने जिम्मेवारी सुम्पियो । ‘हामी नयाँ उद्योगको सम्भावनाको खोजीमा थियौं । सुरुमा रोलिङ मिल, घिउतेल, केवल र वायर मैले जिम्मा लिएर नेतृत्व लिएँ’ सारडा ग्रुपका प्रबन्ध निर्देशक उनले भने ‘यता आएको पनि २८ –३० वर्ष भइसकेछ ।’ अहिले उनले वायर र केवल, रोलिङ मिल हेर्ने गरेका छन् । संविधानसभा सदस्य, मोरङ व्यापार संघ अध्यक्ष लगायतको जिम्मेवारीले उनले व्यवसायिक जीवनमा केही ग्याप लिए ।

जीवनलाई हेर्ने दृष्टिमा पनि पवनको आफ्नै सुत्र छ । ‘विगतमा के भयो, फर्केर कहिल्यै हेर्दिन म’, भन्छन् ‘सधैं नयाँ सोच लिनुपर्छ, देशलाई के दिन सकिन्छ सोच्नुपर्छ ।’ उनको विचारमा व्यवसायी राष्ट्रभक्त हुन् । कारण उनीहरुले रोजगारी र राजश्व दिइरहेका हुन्छन् । पछिल्लो समयमा संघीयता कार्यान्वयनमा गएपछि चिन्ता थपिएको छ उनलाई ।

‘अहिले करको चर्को नीति देख्दा दुःख लाग्छ’, संविधान निर्मातामध्येका एक उनले भने ‘ अहिले दश थरी कर छ । यस्तो कर लगाउन पाइन्न । हरेक नगर, गाउँमा फरक कर छ । एउटा कुखुरा कतिपटक मार्नुहुन्छ ? जोगबनी भरिभराउ, छ । यता सुनसान छ । उता माल किन्ने, यता व्यापारीले कर बुझाइरहनुपर्ने । यस्तो अवस्था कसरी आयो ? यसबारे हामीले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ ।’

अहिले उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्वमा जाने कुरा भइरहेको छ । साथीभाइले कर गरिरहेका छन् । ‘ महासंघमा पनि नराम्ररी राजनीतिकरण भइसक्यो । पार्टीकै चुनाव जस्तो भइसकेको छ । ’ उनको अनुभवले भन्छ ‘ निजी क्षेत्रको प्रगतिका लागि मेरो आवश्यकता बोध भयो भने जान्छु । नत्र पैसा खर्चेर, लडाइँ झगडा गरेर चाहिँ जान्न ।’

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्