टेलिकमले ल्यायो यस्तो छुटको अफर, कुन सेवामा कति ? (प्रयोग गर्ने तरिका सहित)


 


काठमाडौं, असोज १२
नेपाल टेलिकमले दशैंकोे अवसरमा परोर आकर्षक छुटको व्यवस्था गरेको छ । कम्पनीका सेवाहरु फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर दिएको छ ।

यी सेवाहरु आजदेखि नै लागू भएका छन् । तर रिचार्जमा बोनसको अफर भने लागू भइसकेको छैन् । आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस पाउने टेलिकमले जनाएको छ ।

यी हुन टेलिकमको छुटका अफरहरु

१. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् ।

२. पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सकिने छ ।

३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

४. प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नुहुनेछ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।

५. रिचार्जमा बोनस : जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । विजया दशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ ।

यस योजनामा रु ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु ५०, १०० र २०० को बोनस ३ दिन भित्र र रु ५०० र १००० को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट रु १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

प्रकाशित मिति: १२ आश्विन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्