पूर्व मुमा बडामहारानी निवासको लाइन प्राधिकरणले काट्यो


 


काठमाडौं, भदौ ५

लामो समयदेखि महसुल नतिर्ने ठूला ग्राहको लाइन काट्न थालेको नेपाल विद्युत प्राधिकरणले आइतबार नारायणहिटी दरबारमा रहेको महेन्द्र मञ्जिलको लाइन काटेको छ । महेन्द्र मञ्जिलमा पूर्व मुमा बडामारानी रत्न बस्दै अाएकी थिइन ।

महेन्द्र मञ्जिलले झण्डै ३७ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । गणतन्त्र स्थापना पछि पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडे पनि रत्न भने नारायणहिटीमा रहेको महेन्द्र मञ्जिलमा बस्दै अाएकी हुन् । ८८ वर्षे रत्नले महेन्द्र मञ्जिल छाड्न नचाहे पछि सरकारले उनलाई जीवन भर महेन्द्र मञ्जिलमा बस्न अनुमति दिएको थियो ।

नारायणहिटीलाई भने संग्रहालय बनाइएको छ । संग्रहालले नियमति रुपमा विद्युत महसुल तिर्दै आए पनि गणतन्त्र स्थापना पछि महेन्द्र मञ्जिलको भने महसुल तिरिएको छैन । प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने जनाएका थियाे जसअनुसार  काम थालेको हाे । यसअघि गाेकर्ण बिष्ट उर्जा मन्त्री हुँदा याे कामकाे थालनी गरिएकाे थियाे । जनार्दन शर्माले बिष्टकाे कामलार्इ पछ्याउन थालेका हुन् ।

प्रकाशित मिति: ५ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्