बङ्गलादेशका राष्ट्र्रपति काे नेपाल भ्रमण………


 


भक्तपुर, २६ कात्तिक

नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन ।
यहाँ आइपुग्नुहुँदा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गरेका थिए । राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गरे । राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गरेका थिए ।

विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विशिष्ट पाहुनाको स्वागतार्थ विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षी हमिदले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गर्नेछिन । बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्