आलमको भिडियो सार्वजनिक भएपछि प्रहरीलाई तनाव, कसरी बाहिरियो भिडियो ?


 



काठमाडौं, मंसिर ४
रौतहट हत्या काण्डमा पुर्पक्षका लागि कारागार चलान भएका निलबित सांसद र प्रहरी अधिकारीबीच भएको संवाद सार्वजनिक भएपछि प्रहरी तनावमा परेको छ ।

असोज २६ गते इन्द्रिसगेटदेखि गौर ल्याउनेक्रममा जीपमा भएको भिडियो संवाद आलम जेल चलान भएपछि सार्वजनिक भएको हो । अन्नपूर्णमा खबर छ ।

भिडियो सार्वजनिक भएको विषयमा प्रहरी अधिकारी नै अन्यौलमा छन् । आलमलाई पक्राउ गर्न गएका अधिकृतले भिडियो गरेका थिए । आलमले प्रहरी अधिकृतलाई थर्काउँदै आगो लगाइदिनेसमेत बताएका थिए ।

प्रहरीले हाइप्रोफाइल व्यक्तिलाई पक्राउ गर्दा प्रमाणको लागि भिडियो गरेको जनाएको छ । एक प्रहरी अधिकृतले भने भीआईपीलाई पक्राउ गर्दा पछि जवाफ दिन सजिलो होस् भन्ने उद्देश्यले यस्तो प्रमाण प्रहरीले राख्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले मुद्दाको अनुसन्धानपछि जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय गौरमा भिडियो बुझाएको थियो । भिडियो कसरी बाहिरियो भन्ने आफू अचम्ममा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नबीन कार्कीले बताए ।

सो भिडियोका कारण अनावश्यक तनाव थपिएको उनले बताए । आलममाथि ३२ वर्ष कैद सजाय माग दाबीसहित कात्तिक १९ गते तीनवटा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्