बम पड्काउँदै, चन्दा उठाउँदै


 


कलैया – बम बिस्फोट गर्दै उद्योगी व्यवसायीसँग धम्क्याएर फिरौती रकम असुल गर्ने एक गिरोह प्रहरीलाई मंसिर २६ मा बाराबाट पक्रियो। नेपाल–भारतको खुल्ला सीमाको फाइदा उठाउँदै उद्योगी, व्यवसायी र सर्वसाधारणलाई आतंकित पारेर बिस्फोट, फिरौती असुल्ने आपराधिक कार्यमा सक्रिय चारजना पक्राउ परे। पक्राउ पर्नेमा परवानीपुर गाउँपालिका ४ का ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जीतपुरसिमरा उपमहानगरपालिका २० का २० वर्षीय अच्चेलाल गोसाइँ र फेटा गाउँपालिका ३ का ३९ वर्षीय दीपेन्द्रकुमार धानुक छन्।

पक्राउ परेकामध्ये गोढ गिरोहका नाइके रहेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। उनका अनुसार परवानीपुर गाउँपालिका ४ स्थित एमएस इँट्टा उद्योगका सञ्चालक मनोजप्रसाद साह तेलीसँग फिरौती रकम लिने क्रममा पक्राउ परे। गोढले तीन महिनादेखि तेलीलाई धम्क्याउँदै फिरौती रकम माग गर्दै आएका थिए। फिरौती दिन इन्कार गर्दै आएका तेलीले धम्कीबारे प्रहरीमा जानकारी गराएपछि गोढसहित गिरोह पक्राउ परेका हुन्।

‘तीन महिनादेखि फोन र एसएमएसबाट धम्क्याउने र बम बिस्फोट गरेर रकम माग गर्दै आएको सूचना प्राप्त भयो’, खनालले भने, ‘फिरौती दिने भन्दै बोलाएर उनीहरूलाई नियन्त्रणमा लिन सफल भयौं। अन्य पनि संलग्न देखिए।’ गोढले तीन महिनाअघि उद्योग सञ्चालक तेलीसँग १५ लाख फिरौती रकम मागेका थिए। फिरौती रकम नदिएपछि कात्तिक ४ गते तेलीको उद्योगमा बमसमेत बिस्फोट गराएको खुलेको छ। बिस्फोटपछि पनि गोढले फिरौती रकम नदिए परिवारलाई समेत सिध्याइदिने धम्की दिएपछि तेली प्रहरीसम्म पुगेका हुन्।

फिरौतीका लागि पटक पटक धम्क्याउँदै आएका गोढलाई पक्राउ गर्न प्रहरीले फिरौती रकम दिने आश्वासन दियो। प्रहरीकै अनुरोधमा तेलीले गोढलाई बुधबार परवानीपुर ४ स्थित चैनपुरमा तीन लाख फिरौती लिन बोलाए। फिरौती लिन गोढ भने आएनन्। उनले सहयोगी देवशंकर रामलाई पठाए। इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रामलाई पक्राउ गर्‍यो। उनकै मद्दतमा प्रहरीले गोढलाई पुनः फिरौती लिन बोलायो। गोढले पुनः अर्का सहयोगी गोसाइँलाई पठाए। प्रहरीले गोसाइँलाई समेत नियन्त्रणमा लियो। दुई सहयोगीको बयानका आधारमा गोढलाई परवानीपुरबाट नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक खनालले बताए।

‘धानुक पहिला नै हिरासतमा थिए, अभद्र व्यवहारमा एक साताअघि नियन्त्रणमा राखेर मुद्दा चलाइरहेका थियौं’, उनले भने, ‘बयानबाट उनको समेत संलग्नता देखियो अनि हामीले आपराधिक कसुरमा मुद्दा चलायौं।’ गोढ तीन वर्षअघि हातहतियार मुद्दामा डेढ वर्ष जेल सजाय भुक्तान गरेको व्यक्ति भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार गत असोज १० गते प्रसौनी ४ का नन्दकिशोर प्रसाद कुम्हालसँग गोढसहितका व्यक्तिले ५० लाख फिरौती मागेको र रकम नपाएपछि सुतली बम बिस्फोट गराए। परवानीपुर ४ स्थित नारायणी आयल रिफायनरीमा सुतली बम बिस्फोट गरी २५ हजार फिरौती रकम लिएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्