गुप्तचरले नागरिकका गोप्य विवरण सिधै लिन सक्ने



काठमाडौँ — गुप्तचर संयन्त्रले अदालतको आदेशबिनै नागरिकको टेलिफोन र इन्टरनेट गतिविधिको विवरण प्राप्त गर्न सक्ने प्रावधानसहित सरकारले नयाँ विधेयक संसद्‌मा दर्ता गराएको छ । प्रधानमन्त्री कार्यालयबाट राष्ट्रिय सभामा दर्ता भएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा अदालतको आदेशबिनै नागरिकको दूरसञ्चारसम्बन्धी क्रियाकलाप र विवरण प्राप्त गर्न सकिने प्रावधान छ ।

विधेयकको दफा १० को सूचना संकलनसम्बन्धी विशेष व्यवस्थामा गुप्तचर निकायलाई अदालतको आदेशबिना पनि नागरिकको सञ्चार सञ्जाललाई अनुगमन वा निगरानी गरी आवश्यकताअनुसार विषयवस्तु प्राप्त गर्न सक्ने अधिकार दिने व्यवस्था राखिएको छ । ‘राष्ट्रिय अनुसन्धान विभागले निगरानीमा रहेका व्यक्ति, संघसंस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएको कुराकानी, श्रव्यदृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी, अनुगमन र इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न सक्नेछ,’ उक्त दफामा भनिएको छ ।

यो दफाको उपदफा २ मा भनिएको छ, ‘अनुसन्धानमा खटिएका अधिकृतले मुख्य अनुसन्धान निर्देशकको स्वीकृति लिई त्यस्तो कम्प्युटर, टेलिफोन, मोबाइल फोन, इन्टरनेट वा दूरसञ्चार माध्यम वा सोबाट भएको दूरसञ्चारसम्बन्धी विवरण, संकेत वा सूचना उपलब्ध गराइदिन सम्बन्धित अधिकारी, निकाय वा सेवा प्रदायकलाई अनुरोध गर्नुपर्ने छ ।’

उपदफा ३ मा विभागको अनुसन्धान अधिकृतले मागेको विवरण दिन सेवा प्रदायक बाध्यकारी हुने प्रावधान राखिएको छ । ‘कुनै विवरण, संकेत वा सूचना माग गरेकोमा सम्बन्धित अधिकारी, निकाय वा सेवा प्रदायकले त्यस्तो कम्प्युटर, टेलिफोन, मोबाइल फोन, इन्टरनेट वा दूरसञ्चार माध्यम वा सोबाट भएको सञ्चारसम्बन्धी विवरण, संकेत वा सूचना उपलब्ध गराउनुपर्ने छ,’ उक्त उपदफामा भनिएको छ ।

गोपनीयताको अधिकारसम्बन्धी जानकारहरू भने विधेयकमा राखिएको यो प्रावधान जस्ताको तस्तै पारित भए यसले नागरिकको गोपनीयताको हक हनन गर्ने र सर्वोच्च अदालतले यसअघि जारी गरेको परमादेशविपरीत हुने तर्क गर्छन् ।

अधिवक्ता प्रवीण सुवेदीले विधेयकमा भएको यो प्रावधानले दुरुपयोग हुने र नागरिकको गोपनीयता हनन हुने टिप्पणी गरे । ‘संसारका कुनै पनि देशमा अदालतको आदेशबिना नागरिकको यस्ता विवरण संकलन गर्न पाइन्न,’ उनी भन्छन्, ‘अनुसन्धान क्रममा भेटिएको मोबाइल वा कम्प्युटरजस्ता डिभाइस खोल्नसमेत अदालतको आदेश चाहिन्छ ।’

कार्यकारी निकायको एक अंगले चाहेमा नागरिकको गोप्य विवरण हेर्न सक्ने प्रावधानका कारण नागरिक सधैं गोपनीयताको जोखिममा हुने उनको तर्क छ । ‘यस्ता विवरण हेर्न सबैभन्दा पहिला त्यो आवश्यक छ कि छैन पहिल्याउनुपर्छ,’ उनले भने, ‘सोझै हेर्न पाइने भएपछि त्यो आवश्यक थियो/थिएन कसले निर्क्योल गर्ने ?’

कसैको विवरण हेर्न आवश्यक छ/छैन भनेर स्वतन्त्र निष्कर्ष निकाल्नका लागि पनि अदालतको भूमिका हुने उनको बुझाइ छ । ‘यो प्रावधान सर्वोच्च अदालतले ०७२ माघ २१ मा दिएको उत्प्रेषणयुक्त परमादेशविपरीत छ,’ उनले भने । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले जारी गरेको उत्प्रेषणयुक्त परमादेशमा अदालतको आदेशबिना कसैको पनि कल डिटेल हेर्न नपाइने उल्लेख छ । सर्वोच्चले सरकारलाई यस्ता कल डिटेल हेर्नका लागि छुट्टै कानुन बनाउन र नबनाउन्जेल सम्बन्धित जिल्ला अदालतबाट स्वीकृति लिएर मात्रै विवरण हेर्न आदेश गरेको थियो ।

सरकारले नागरिकको व्यक्तिगत गोपनीयतामा असीमित पहुँच हुने गरी कानुनी प्रावधान राखेको यो पहिलो पटक होइन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको दूरसञ्चार विधेयकको मस्यौदामा पनि दूरसञ्चार सेवा प्रदायकले आफ्नो डाटाबेसमा सरकारको पहुँच दिनुपर्ने प्रावधान राखिएको छ ।

यस्तै, संसद्मा विचाराधीन अवस्थामा रहेको सूचना प्रविधि विधेयकमा इन्टरनेट सेवा प्रदायकले आफ्नो ग्राहकको इन्टरनेट गतिविधि निगरानी गर्नुपर्ने खालको प्रावधान राखिएको छ । विधेयकमा इन्टरनेट उपभोक्ताले कुनै गैरकानुनी काम गरेको शंका लागेमा सेवा प्रदायकले सम्बन्धित निकायलाई जानकारी दिनुपर्ने प्रावधान छ । जसका कारण सेवा प्रदायकले आफू कानुनी झमेलाबाट बच्न आफ्ना उपभोक्ताले इन्टरनेटमा गर्ने क्रियाकलापको निगरानी गर्न थाल्ने भन्दै यसको विरोध भइरहेको छ ।

विधेयक संविधानविपरीत : कांग्रेस
राष्ट्रिय सभामा पेस भएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार विरोधको सूचना दर्ता गरेको छ । कांग्रेसका तर्फबाट राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विषय समेटिएको विशेष सेवा विधेयक संविधानविपरीत रहेको जिकिर गर्दै विरोधको सूचना दर्ता गरेका हुन् ।

संविधानको मौलिक हकले प्रदान गरेको नागरिक स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने गरी राखिएका प्रावधान संविधान प्रतिकूल रहेको उल्लेख गर्दै विधेयक फिर्ता लिन माग गरिएको छ । विधेयक राष्ट्रिय सभा बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने सरकारको प्रस्तावविरुद्ध सूचना दर्ता गरेको पन्थले बताए ।कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News