बैठक चलिरहेकै बेला नेताहरु शितल निवासतर्फ, नेताहरुबीच भनाभन


 



काठमाडौं, पुस ६
सत्तारुढ नेकपाको स्थायी समिति बैठक जारी रहेकै वेला नेकपामा नेताहरु राष्ट्रपति निवास शितल निवास पुगेको भन्दै नेताहरुबीच भनाभन भएको छ ।

राष्ट्रपति विद्या भण्डारीले झन्डै एकचौथाइ नेताहरूलाई सरकारी निवासमा बोलाएर छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतलनिवासमा बोलाएर ११ नेतालाई ‘लन्च’ खुवाएको खबर छ । नयाँ पत्रिकामा खबर छ ।

राष्ट्रपतिको लन्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए ।

बिहान ११ बजे धुम्बाराहीमा सुरु भएको स्थायी समिति बैठकमा १० जना नेताहरू एक घण्टा ढिलो हुल बाँधेर प्रवेश गरेपछि अध्यक्ष प्रचण्डले जिज्ञासा राखेका थिए । ‘यहाँ पार्टीको बैठक चलिरहेको छ, तपाईंहरू कहाँ हराउनुभएको थियो ?’, प्रचण्डको प्रश्न उधृत गर्दै स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘तपाईंहरू किन जानुभएको थियो ? के कुरा भयो, बैठकलाई जानकारी गराउनुस् ।

हामी विधि र प्रक्रियाका कुरा गर्छौं तर तपाईंहरू अध्यक्षलाई जानकारी नै नगराई बैठकमा ढिला आउनुहुन्छ ।’प्रचण्डको जिज्ञासापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वनिर्धारित भेटघाटका लागि आफूहरू राष्ट्रपतिकहाँ गएको जवाफ दिएका थिए ।

ज्ञवालीको भनाइको लगत्तै भीम रावल, रघुजी पन्तलगायत नेताहरूले पार्टी बैठकको बीचैमा राष्ट्रपतिकहाँ जानु आपत्तिजनक भएको भन्दै प्रतिवाद गरेका थिए । ‘पार्टीको मिटिङ चलिरहँदा तपाईंहरू राष्ट्रपतिकहाँ जान मिल्छ ? यो आपत्तिजनक विषय हो,’ रावलले भनेका थिए, ‘राष्ट्रपतिकहाँ तपाईंहरूको के बैठक थियो ?’

बैठकमा अरु नेताहरूले पनि आपत्ति जनाउँदै हो–हल्ला गरेको र भनाभन भएको नेता वेदुराम भुसालले जनाए । रावललाई जवाफ दिँदै ज्ञवालीले भनेका थिए, ‘राष्ट्रपतिकहाँ हामी जानै नहुने ? राष्ट्रपतिजस्तो सम्मानित संस्थाबारे प्रश्न उठाउन मिल्छ ? राष्ट्रपतिसँग भेटलाई पार्टीमा छलफलको विषय बनाउन मिल्छ ?’

रावलले राष्ट्रपतिले राजनीति गर्न खोजेको हो भने भन्नुप¥यो भन्दै ज्ञवालीलाई तुरुन्तै जवाफ फर्काए, ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, प्रश्न उठाउनै नपाइने किन ?’ नेकपा स्थायी समितिमा भनाभन र हो–हल्लाको स्थिति आएपछि अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेर विषयान्तर गरेका थिए ।

प्रचण्डले यसअघि पार्टीका दुई अध्यक्षले राष्ट्रपतिलाई भेट्दा पनि सार्वजनिक रुपमा आलोचना भएको प्रसंग स्मरण गर्दै नेताहरूलाई विधि र प्रक्रिया ख्याल गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: ६ पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्