सभामुखमा नेम्वाङकै सम्भावना


 


काठमाडौ, पुस ११
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भएका हुन् । संविधानसभाको सभामुख पदको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका नेम्वाङ नेकपाभित्र सबैले रुचाउने नेतामा पर्छन् ।

पछिलो समय पटक–पटक भएको ओली र दाहालबीचको छलफलबाटै नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने सहमति जुटेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले नेम्वाङलाई सभामुख बनाउन गरेको प्रस्तावमा अर्का अध्यक्ष दाहालसमेत सहमत भएका हुन् ।

यसअघि अध्यक्ष दाहालले सभामुखका लागि नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, स्थायी कमिटीका सदस्यद्वय अग्नि सापकोटा र पम्पा भुसालमध्ये एकलाई बनाउन खोजेका थिए । तर, प्रधानमन्त्री ओलीले नेम्वाङलाई अघि सारेपछि दाहालले त्यसमा सहमति जनाएको बालुवाटार स्रोतले जनाएको छ ।नेकपाको स्थायी कमिटी बैठक आइतबार सकिएपछि सभामुख र उपसभामुखको विषयमा अध्यक्षद्वय ओली र दाहालले निरन्तर छलफल सुरु गरेका हुन् । निवर्तमान सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएर राजीनामा दिएपछि सभामुखको निर्वाचन गर्नुपरेको हो ।

उपसभामुख डा. शिवमाया तुम्बाङ्फेलाई राजीनामा गराउने सहमति यसअघि नै भइसकेको छ । सुरुमा तुम्बाङ्फेलाई नै सभामुख बनाउनुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत लबिङ गरेकी थिइन् । संसद्को हिउँदे अधिवेशन सुरु भएसँगै नयाँ सभामुख र उपसभामुखका लागि चर्चा सुरु भएको हो । शुक्रबार बस्ने बैठकबाट निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । यसअघि नेम्वाङ, गुरुङ, सापकोटा, भुसाल, तुम्बाङ्फे सभामुखका दाबेदार भए पनि नेम्वाङ नै सभामुख हुने पक्का भएको छ ।

उपसभामुख को ?

नेम्वाङ सभामुख हुने निश्चित भएसँगै उपसभामुख कसलाई दिने भन्ने खोजी सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालले उपसभामुखबारे अहिलेसम्म केही निर्णय गरेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार एउटै दल र उही लिंगको व्यक्ति सभामुख र उपसभामुख हुन पाउँदैनन् त्यसैले सभामुखमा नेकपाले पुरुष सांसदलाई अघि सारेपछि अन्य दलबाट महिला सांसदलाई उपसभामुख बनाइनेछ ।

नेकपाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा नेपाल वा नेमकिपा र जनमोर्चाबाट उम्मेदवार उठाउन सक्छ । राष्ट्रिय सभा निर्वाचनमा राजपासँग दुई बुँदे सहमति गरेको नेकपाले राजपालाई नै उपसभामुख दिएर सरकारमा थप समर्थन लिन सक्ने अनुमान गरिएको छ ।

राजपाले उपसभामुख पाएमा चन्दा चौधरी, अमृता अग्रहरी वा रानी मण्डलमध्ये एकलाई उपसभामुख बनाउने निश्चित छ । राजपा स्रोतका अनुसार नेकपासँग भएको दुई बुँदे सहमतिसँगै उपसभामुख पनि राजपाले पाउने आश्वासन पाएको छ । यो समाचार राजधानी दैनिकमा सुभास शाहले लेखेका छन ।

प्रकाशित मिति: ११ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्