नीर शाह र सन्तु तामाङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड


 



काठमाडौं, पुस २०
सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा नीर शाह र सन्तु तामाङले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका छन् । माकामना सिने मासिकको आयोजना तथा सिजी इन्टरनेन्मेन्टको प्रस्तुतिमा पाँचौं संस्करणको सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा शाह र तामाङले सो अवार्ड पाएका हुन् ।

समारोहमा अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाहलाई नगद १ लाख रुपियासहित कलातर्फको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ तथा मेकअप आर्टिष्ट सन्तु तामाङलाई नगद १ लाख रुपियाँसहित पर्दा पछाडिको कलाकारतर्फको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ प्रदान गरिएको थियो ।

समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो भने लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । सीजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा यस वर्ष दुई अवार्ड थपिएको आयोजकले जनाएका छन् ।

कामना न्युज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष स्व. भरतलाल क्षेष्ठको नाममा भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा कामना न्युज पब्लिकेसन्सका प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठको नाममा पुष्कर मिडिया अवार्ड स्थापना गरी दुईजनालाई प्रदान गरिएको छ ।

भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६ नगद १ लाख रुपैयाँसहित पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई प्रदान गरिएको छ भने सञ्चार क्षेत्रमा योगदान पर्याउनेलाई प्रदान गरिने पुष्कर मिडिया अवार्ड २०७६ नगद १ लाख रुपैयाँसहित इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण मानन्धरलाई प्रदान गरिएको जनाइएको छ ।

जुरीको ९० र भोटीङको १० प्रतिशत अंक जोडी अवार्ड प्रदान गरिएको समारोहमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रसादले जितेको छ । १० विधाको मनोनयमा परेको प्रसादले अवार्डका मुख्य विधाहरु सर्वोत्कृष्ट चलचित्रसहित निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड जितेको छ ।

यो चलचित्रबाट दिनेश राउत यो वर्षको सर्वोत्कृष्ट निर्देशक, विपीन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथा शुशिल पौडेल सर्वोत्कृष्ट पटकथा लेखकको अवार्ड विजेता भएका छन् ।

१५ विधाको मनोनयनमा परेको चलचित्र ‘नाई नभन्नु ल ५’ ले पनि सह अभिनेत्री, बाल कलाकार, गीतकार, संगीतकार तथा छायाकन गरी ५ विधाको अवार्ड जितेको छ । यो चलचित्रबाट प्रियंका कार्की सर्वोत्कृट सहअभिनेत्री, सेड्रिना शर्मा बाल कलाकार, दिनेश थापा गीतकार, वसन्त सापकोटा संगीतकार र पुरुषोत्तम प्रधानले छायांकारको अवार्ड जितेका छन् ।

यो फिल्मबाट २ बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका थिए भने वसन्त सापकोटा बोबी र नाई नभन्नु ल ५ गरी २ फिल्मबाट संगीतकार मनोनयनमा परेको जनाइएको छ । १२ विधाको मनोनयनमा परेको छक्का पञ्जा ३ ले हास्य कलाकार, नृत्य निर्देशक संवाद र ध्वनि मिश्रण गरी तीन विधाको अवार्ड जितेको छ ।

हास्य विधाको अवार्ड केदार घिमिरेले जितेका छन् । उनी चलचित्र रामकहानीबाट पनि मनोनयनमा परेका थिए भने नृत्य निर्देशकको अवार्ड जितेका कविराज गहतराज ४ चलचित्रबाट मनोनयनमा परेका थिए। यससँगै कविराज कामना फिल्म अवार्डमा लगातार ५औं अवार्ड जित्न सफल भएको आयोजकले जनाएका छन् ।

१२ विधाकै मनोनयनमा परेको चलचित्र डमरुको डण्डीबियोले सर्वोत्कृष्ट नव निर्देशकसँगै कथा, पाश्र्व संगीत र सम्पादन गरी ४ विधाको अवार्ड जितेको छ । चलचित्र साईंलीबाट अभिनेता दयाहाङ राईले सहअभिनेताको अवार्ड जितेका छन् भने यो चलचित्रले पाश्र्व गायकको अवार्ड पनि जितेको छ ।

यस वर्षको गोदरेज नम्वर वन कामना फिल्म अवार्डस् २०७६ मा चलचित्र बोबीबाट उमेश थापाले नव अभिनेता र ए मेरो हजुरबाट सुहाना थापाले नव अभिनेत्रीको अवार्ड जितेका छन् भने प्रमोद अग्रहरी कथा काठमाडौंबाट वर्षको सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् ।

त्यसैगरी चलचित्र भिलेन सर्वोत्कृष्ट द्धन्द निर्देशक, चलचित्र बाँध मायाले पाश्र्व गायिका र चलचित्र चक्कर श्रृगार विधाको अवार्ड विजेता बनेका छन् । चलचित्र हरिलाई जुरी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २० पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्