प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै, एजेन्डा नाम र राजधानी


 


हेटौंडा, पुस २१
प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्न लागेको हो । प्रदेशसभाको आजबाट सुरु हुने बैठकको मुख्य एजेन्डा प्रदेशको नाम र राजधानी हुने बताइएको छ । प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, प्रदेश ३ प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपाबीचमै प्रदेशको नाम र राजधानीलाई लिएर विमति छ । केही दिनअघि बसेको नेकपा सचिवालय बैठकले नाम ‘वाग्मती’ र राजधानी ‘हेटौंडा’ कायम गर्न निर्देशन दिए पनि पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै नेताहरू रुष्ट छन् । खासगरी नामभन्दा पनि राजधानीको विषयमा नेकपा सांसदहरूको असहमति छ । आइतबार प्रदेशको नाम वाग्मती र स्थायी राजधानी हेटौंडा राख्न पार्टी सचिवालयले गरेको निर्णय अनुमोदन गराउन नेकपा प्रदेश ३ संसदीय दलको बैठक बसे पनि बिनानिष्कर्ष मंगलबारसम्मका लागि स्थगित भएको छ ।

उता, प्रदेश ३ संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने यसबारे अझै अन्योलमा छ । पार्टी केन्द्रसँगै प्रदेश कमिटीले समेत यसबारे निर्णय गर्न सकेको छैन । कांग्रेसको प्रदेश ३ संसदीय समितिका अनुसार यसबारे छलफल गर्न सोमबार बिहान बैठक बोलाइएको छ ।

प्रदेशको नाम र राजधानीबारे मतदान भएमा नेकपाको प्रस्ताव पारित हुनेछ । प्रदेश ३ को ११० सदस्यीय सभामा ८० सांसद् नेकपाका छन् । यो संख्या प्रदेशको नाम र राजधानीको प्रस्ताव पारितका लागि ७४ मत भए पुग्छ । प्रदेश ३ को प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र १/१ सांसद् छन् । आर्थिक वर्ष ०७६र७७ को बजेट पारित गर्दै गत भदौ २४ मान प्रदेशसभा बैठक स्थगित भएको थियो।

प्रकाशित मिति: २१ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्