बालुवाटारमा हेटौँडाकै पक्षमा सहमति : ओली–प्रचण्डको आग्रहपछि निर्णय मान्न तयार भए असन्तुष्ट नेता


 


काठमाडाैँ, पुस २३
नेकपा कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी स्विकारेपछि प्रदेश राजधानी हेटौँडा तोक्ने निर्णय कार्यान्वयन गर्न असन्तुष्ट सांसद तयार भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको छलफलमा ओली–प्रचण्डले सचिवालयबाट प्रदेश सभाका सांसदहरूको मनोविज्ञान नबुझी निर्णय भएको स्विकारेका हुन् ।

छलफलपछि नेकपा प्रदेश ३ कमिटी नेतृत्व र असन्तुष्ट सांसदहरू केन्द्रीय सचिवालयको निर्णय कार्यान्वयन गर्न तयार भएका छन् । सांसदहरूको भावना नबुझी निर्णय गर्नु कमजोरी भए पनि कार्यान्वयन नहुँदा दुर्घटना हुने र प्रक्रियाबाटै अर्कोपटक राजधानी फेर्न पनि सकिने बताउँदै ओली–प्रचण्डले असन्तुष्टि मत्थर पारेका हुन् ।

प्रदेश संसदीय दलमा हेटौँडा र काभ्रे दुवैतिर मत बाँडिएपछि ओली र प्रचण्डले बैठक स्थगित गरेर तत्काल काठमाडौं आउन पार्टी प्रदेश नेतृत्वलाई सोमबार निर्देशन दिएका थिए । सोमबार साँझ काठमाडौं फर्किएका उनीहरू मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । छलफलमा नेकपा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्दप्रसाद पोखरेल, प्रदेश मन्त्रीहरू कैलाश ढुंगेल, शालिग्राम जमरकट्टेल, युवराज दुलाल र सांसदहरू राजेन्द्र पाण्डे र पशुपति चौँलागाईं सहभागी थिए ।

‘खासै ठूलो विवाद थिएन, तर पनि ठाउँ र नामको विषय भएकाले मनमा तुष नराखौँ भन्ने हिसाबले पार्टी नेतृत्वसँग पुनः छलफल गरिएको हो,’ प्रदेश अध्यक्ष नारायण दाहालले नयाँ पत्रिकासँग भने, ‘केही साथीहरूमा काभ्रेमा पार्टीले किन निर्णय गरेन भन्ने जिज्ञासा थियो, त्यो जिज्ञासा छलफलबाट हल भएको छ, साथीहरू सबै प्रफुल्लित नै हुनुभएको छ । अब २÷४ दिनभित्रै प्रदेश सभाबाट राजधानी र नामांकनको निर्णय हुनेछ ।’

अध्यक्षद्वयसँगको छलफलमा नेताहरूले प्रदेश संसदीय दलको बैठकमा सांसदहरूले व्यक्त गरेको मतका विषयमा सबिस्तार ‘ब्रिफिङ’ गरेका थिए । उनीहरूले हेटौँडा र काभ्रे दुवैतिर मत प्रकट भएकाले कुनै न कुनै हिसाबले सम्बोधन गरेर सर्वसम्मत धारणाका साथ प्रदेश सभाबाट राजधानीको निर्णय लिनु उपयुक्त हुने आवश्यकता औँल्याएका थिए । असन्तुष्ट नेताहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे र पशुपति चौँलागाईंले पहिले सांसदहरूसँग छलफलै नगरी हठात् केन्द्रीय सचिवालयले नै राजधानी तोक्ने र नामांकन गर्ने निर्णयका कारण समस्या उत्पन्न भएको भन्दै आलोचना गरेका थिए ।

‘सचिवालयले निर्णय गरेको प्रक्रिया नै मिलेन, कमसेकम एकपटक सांसदहरूसँग छलफल गरेर वातावरण बनेपछि मात्र निर्देशन आएको भए अहिले यस्तो अवस्था देखिन्नथ्यो होला,’ असन्तुष्टमध्येका एक नेताले नयाँ पत्रिकासँग भने, ‘तपाईंहरूले प्रदेश सभाको संवैधानिक अधिकार खोस्नुभयो, आफैँले हस्ताक्षर गरेर बनाएको संविधानलाई च्यात्ने काम गर्नुभयो, त्यसैले कमजोरी महसुस नगरेसम्म निर्णय गर्न धेरै कठिन हुने अवस्था छ ।’ प्रदेशका नेता र असन्तुष्ट सांसदहरूले पालैपालो धारणा राख्दा बिहान ११ बजे सुरु भएको छलफल दिउँसो एक बजेसम्म लम्बिएको थियो ।

विरोधदेखि सहमतिसम्म
१३ पुस : नेकपा सचिवालय बैठकबाट प्रदेश–३ को नाम बागमती र राजधानी हेटौँडा राख्न प्रदेश कमिटी र संसदीय दललाई निर्देशन दिने निर्णय

१४ पुस : प्रदेश सभाका सिनियर नेकपा सांसदहरू राजेन्द्र पाण्डे, पशुपति चौँलागाईंसहित एक दर्जन बढीले प्रदेश सभामाथि हस्तक्षेप भएको भन्दै विरोध

१५ पुस : सचिवालयको निर्णय कार्यान्वयन गर्न नेकपा प्रदेश–३ को नेतृत्वलाई निर्देशन, निर्देशन कार्यान्वयन गर्न नसकिने इन्चार्ज अष्टलक्ष्मी शाक्यको जवाफ

१८ देखि २० पुस : हेटौँडामा भएको संसदीय दलको बैठकमा हेटौँडा र काभ्रेका पक्षमा सांसदहरू विभाजित

२० पुस : विवाद समाधान नभएपछि संसदीय दलको बैठक स्थगित । मुख्यमन्त्री डोरमणि पौडेलबाट नेतृत्वलाई जानकारी

२१ पुस : प्रदेशको पार्टी नेतृत्व र अगुवा असन्तुष्ट सांसदलाई काठमाडौंमा बोलावट

२२ पुस : निर्णय कार्यान्वयन गर्न ओली–प्रचण्डको पुनः निर्देशन, प्रदेश नेतृत्व र असन्तुष्ट नेता पनि सहमत

केपी ओली
हेटौँडा उचितै होला भन्ने लागेर निर्णय गरेका हौँ । पहाड र तराई जोड्ने रणनीतिक स्थान भएकाले ठीकै होला भन्ने लाग्यो । अहिले निर्णय भए पनि सधैँ त्यहीँ राखिरहनुपर्छ भन्ने छैन । जनदबाब बढ्यो, अर्को निर्वाचनबाट जनमत पनि त्यस्तै देखियो भने अर्को ठाउँमा फेर्न पनि सकिन्छ । तर, अहिलेलाई कार्यान्वयन गरेर जान आग्रह गर्छु ।
प्रचण्ड
सचिवालयबाट निर्णय गरिसक्यौँ, एकपटकलाई जे हुनु भयो, कार्यान्वयन गरेरै जाऔँ, फिर्ता लिँदा पार्टीमा दुर्घटना हुन्छ । काभ्रेलाई बृहत् राजधानीको अवधारणाभित्रै समेटेर काम हुँदै छ । जनघनत्व र विकास विस्तार हुँदै छ । ६ लेनको बाटो बन्दै छ, प्रहरी एकेडेमी, सूचना प्रविधि पार्क, पाँचखालमा सुख्खा बन्दरगाह, अस्पतालहरूको विकास हुँदैछ ।

अष्टलक्ष्मी शाक्य
सोध्दै नसोधी निर्णय गर्ने ? कारबाही गरे गर्नुस्, निर्णय कार्यान्वयन गर्न सकिँदैन भनेकी थिएँ । तर, उहाँहरूले पहिले छलफल गरेको भए हुने रहेछ भन्दै कमजोरी महसुस गर्नुभयो । अब मत जे भए पनि पार्टी बचाउन, अनुशासन र मर्यादा कायम राख्न सबै मतको सम्मान गर्दै सचिवालयको निर्णयअनुसार अघि बढ्नुको विकल्प रहेन ।
राजेन्द्र पाण्डे
काभ्रे र हेटौँडा दुवैतिर राजधानी राखौँ । संसद्को हिउँदे अधिवेशन हेटौँडा र वर्षे अधिवेशन काभ्रेमा गरौँ, यसरी जाँदा दुवैतर्फको मनोविज्ञानको पनि सम्बोधन हुन्छ । अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि दुवैतिरको मनोविज्ञान सम्बोधन गर्न दक्षिण अफ्रिकाको तीन ठाउँमा राजधानी तोकिएको थियो, जर्मनी र पाकिस्तानले पनि त्यस्तै अभ्यास गरेकै हो ।

निर्देशनविपरीत गए परिणाम राम्रो हुँदैन : मुख्यमन्त्री पौडेल

मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता डोरमणि पौडेलले स्थायी राजधानी र नामको विषय सर्वसम्मत टुंगो लाग्ने दाबी गरेका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै पौडेलले भने, ‘सर्वसम्मत राजधानी र नाम तोकिन्छ । विवादित विषय समाधान भइसकेका छन्, समग्रमा सबै पार्टीलाई मिलाएर सरकारको प्रस्तावको पक्षमा शतप्रतिशत मतदान हुनेछ ।’ उनले असन्तुष्ट सांसद निर्देशनविपरीत गए परिणाम राम्रो नहुने चेतावनी दिए ।

२७ पुसमा मतदान

प्रदेश राजधानी र नामकरण टुंग्याउन आगामी २७ पुसमा मतदान हुने भएको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि सभाको दुईतिहाइ मत आवश्यक पर्छ । प्रदेश सभामा नेकपा एक्लैको दुईतिहाइ मत छ । यसअघि कार्यव्यवस्था परामर्श समितिमा २२ पुसमा मतदान प्रक्रियामा जाने निर्णय भए पनि राजधानी र नामका विषयमा सत्तारुढ नेकपामा विवाद देखिएपछि प्रदेश सभा बैठक स्थगित गरिएको थियो ।

विकल्पमा छलफल

केन्द्रीय सचिवालय निर्णयअनुसार अघि बढ्ने तर जनमतलाई सम्मान गर्न काभ्रेलाई राजधानी तोक्ने प्रस्ताव पनि प्रदेश सभामा प्रस्तावमा रूपमा दर्ता गरेर मतदानमा लैजाने विकल्पमा नेकपाभित्र छलफल चलेको छ ।

पहिला काभ्रेको प्रस्तावमा निर्णय हुने र त्यसपछि वर्णानुक्रमअनुसार हेटौँडाको प्रस्ताव अघि बढाउनुपर्ने विकल्पमा समेत छलफल आएको सांसद राजेन्द्र पाण्डेले बताए । ‘यो विकल्पअनुसार अघि बढ्दा धेरै राम्रो हुन्छ,’ पाण्डेले भने, ‘जनमतको पनि सम्मान हुने, पार्टी निर्णय पनि कार्यान्वयन हुने गरी छलफल गरेर मतदान गर्दा उपयुक्त हुन्छ भन्ने कुरा चलिरहेको छ ।’ प्रदेश सभामा ११० मत छ । नेकपाको मात्र ८० मत छ । राजधानी र नामांकनका लागि दुईतिहाइ अर्थात् ७४ मत आवश्यक पर्छ ।नयाँ पत्रिका दैनिकबाट

काभ्रेमा दुईतिहाइ नपुग्ने गरी सांसदहरूलाई पहिले मत हाल्न दिएपछि प्रस्ताव अस्वीकृत गर्ने र अन्तिममा हेटौँडा प्रस्ताव मतदानमा लगेर दुईतिहाइ पु-याउने विकल्पमा छलफल चल्ने नेकपाका नेताहरूले बताएका छन् । नेकपाले संसदीय दलबाट निर्णय गर्ने गरी २४ पुसमा बैठक बोलाएको छ । त्यसअघि नै सबै जिल्लाको मनोविज्ञान सम्बोधन हुने गरी सहमति खोजिने नेताहरूको भनाइ छ ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्