चुरोटको ठुटोबाट सिंहदरबारभित्र आगलागी !




काठमाडौं, फागुन १२
सिंहदरबारस्थित नेपाल टेलिभिजन नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार भवनको भर्याङतर्फको सिरानतलामा आगलागी भएको हो ।

साँझ ७ः२५ बजे सुरु भएको आगलागी ७ः५० नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् । मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टबिनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो ।

डस्टबिनमा चुरोटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन । घटनास्थल पुगेका महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिमल्सिनाले चुरोटको ठुटा फोहोरमा सल्किँदा आगलागी भएको बताए । ‘आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुग्यो ।

विद्युत् सर्ट भएर आगलागी भएको हो कि भन्ने शंका थियो । तर, घटनास्थलमा विद्युत्को तार भेटिएन । जलेको डस्टबिन भने प्यासेजमा थियो । डस्टबिनभित्र चुरोटका ठुटा प्रशस्तै भेटिए । त्यसो हुँदा ठुटाबाटै आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने ।

आगलागी हुनासाथ सिंहदरबार परिसरस्थित प्रहरी गणका सुरक्षाकर्मी र दमकल घटनास्थल पुगेको थियो । तर, आगो नफैलिएका कारण दमकलको पानी प्रयोग भएन । प्रहरीले बाल्टिनकै पानी प्रयोग गरेर आगो नियन्त्रणमा लिएको थियो ।

अगलागी भएको भवनमा संसद् भवन निर्माण सचिवालय निर्माणको कार्यालय, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैकको शाखा कार्यालय छ । सबैभन्दा तल्लो तलामा चमेनागृह छ । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News