सबै पुस्तालाई मिलाएर अघि बढ्छु : गगन थापा



काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र चार पुस्ताका नेता–कार्यकर्ता सँगसँगै रहेकाले सबैलाई मिलाएर अघि बढ्ने बताएका छन्।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकको बदलिँदो आवश्यकता अनुसार नयाँ सोच र चिन्तनलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए।

पार्टीभित्र निर्वाचनमुखी राजनीति बढ्दै गएको उल्लेख गर्दै थापाले बीपी कोइरालाको आदर्श, त्याग र सेवाभावबाट प्रेरणा लिएर राजनीतिसँगै परोपकार, सेवा र जनकल्याणका काममा सक्रिय हुन नेता–कार्यकर्तालाई आग्रह गरे।

उनले भने, “रिलबाट निस्केर रियल लाइफमा हेर्नुस्, अनि मात्र जनताका वास्तविक आवाज सुनिन्छन्। कांग्रेसले दुःखमा साथ दिन्छ भन्ने सन्देश दिने गरी काम गर्नुपर्छ।”

थापाले कांग्रेस संघीय सरकारमा प्रतिपक्षमा रहे पनि प्रदेश र स्थानीय तहमा सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै जनजीविकाका सवालमा दत्तचित्त भएर काम गर्न आग्रह गरे। साथै आगामी भदौ २४ गते बीपी जन्मजयन्तीका अवसरमा पार्टीका प्रत्येक सदस्य र समितिलाई देश र जनताका लागि कुनै न कुनै प्रतिज्ञा गर्न आग्रह गरे।

कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले बीपीका विचार, आदर्श र संस्कारलाई आत्मसात् गर्न सबैलाई आफ्ना क्षेत्रमा शिक्षक बन्ने संकल्प गर्न आग्रह गरे। जलवायु परिवर्तनका कारण बढ्दो विपद् न्यूनीकरणका लागि कांग्रेसले पहल सुरु गरिसकेको पनि उनले बताए।

उपसभापति पुष्पा भुसालले विशेष महाधिवेशनपछि पार्टी विधानलाई नयाँ ढंगले कार्यान्वयन गरिएको उल्लेख गर्दै राजनीतिक निर्वाचन ब्युरो संयन्त्रले समावेशिता र अपनत्व बढाउन सहयोग गर्ने बताइन्। आगामी स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिइने पनि उनले बताइन्।

महामन्त्री प्रदीप पौडेलले जनताका समस्या कांग्रेसको मुख्य एजेन्डा हुने उल्लेख गर्दै सिर्जनात्मक ढंगले पार्टीलाई अघि बढाउने प्रयास भइरहेको बताए। नयाँ विधानअनुसार ३५ वर्षमुनिका २१ जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको पनि उनले बताए।

पौडेलले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म ८० प्रतिशतभन्दा बढी सदस्यले विवरण अद्यावधिक गरिसकेको जानकारी दिए।

अर्का महामन्त्री गुरुराज घिमिरेले विशेष महाधिवेशनपछि नेतृत्व पुस्तान्तरण भएको र सबै निर्वाचन क्षेत्रमा निष्पक्ष रूपमा टिकट वितरण गरिएको बताए। संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन तथा प्रशिक्षणका कामले पार्टी थप जीवन्त बनेको उनको भनाइ थियो।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बीपीका विचार र आदर्शलाई व्यवहारमा उतार्नुपर्ने बताए। उनले भने, “बीपीको विचार र आदर्शलाई नयाँ चिन्तनका रूपमा मुलुकभर अभियान बनाएर लैजानुपर्छ। इतिहासले हामीलाई सधैँ खबरदारी गरिरहेको हुन्छ, त्यसलाई महसुस गर्न सक्नुपर्छ।”

प्रमुख वक्ता प्रा. कृष्ण खनालले बीपी कोइराला कांग्रेसमा मात्र सीमित नभई सिंगो राष्ट्रकै साझा सम्पत्ति भएको धारणा राखे। “बीपी आस्थाको प्रतीक हुनुहुन्छ। उहाँका विचारलाई वर्तमान सन्दर्भमा कसरी लागू गर्ने भन्ने विषय महत्त्वपूर्ण छ,” उनले भने।

नीति प्रतिष्ठानकी सदस्य मोहना अन्सारीले बीपीका विचार, दर्शन र राजनीतिक योगदान आज पनि सबैका लागि प्रेरणाको स्रोत रहेको बताइन्।

कांग्रेस काठमाडौंका सभापति कृष्णसबुज बानियाँले यस्ता कार्यक्रमले पार्टीमा नयाँ ऊर्जा थप्ने उल्लेख गर्दै क्रियाशील सदस्यता व्यवस्थापनका लागि सुरु गरिएको अभियानलाई सकारात्मक रूपमा लिन आग्रह गरे।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार