बरामद गरिएको ३६ तोला सुन प्रहरीबीच बाँडचुँड


 



काठमाडौं, फागुन १५
तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ । प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि बढाएको हो ।

ती प्रहरी बहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउने आधारमा उनीहरूलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको आयोगले जनाएको छ । निलम्बनपछि उनीहरूलाई हिरासतमै लिएर अनुसन्धान अघि बढाउने आयोगको तयारी छ । 

अख्तियारले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई निलम्बन गर्न अख्तियारले पत्राचार गरेको हो ।

प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठलाई पनि निलम्बन गर्न आयोगले पत्राचार गरेको छ ।

उनीहरू सबैलाई केही दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौँडामा राखिएको छ । प्रहरी कार्यालयबाहिर जान नपाउने गरी उनीहरूलाई गणभित्र राखिएको हो ।

सीमा प्रहरी कार्यालयमा ३७ जना प्रहरीको दरबन्दी रहेकोमा तस्करीको सुन बरामद भएको दिन ड्युटीमा रहेका सबै प्रहरी मिलेर लिएका हुन् । सो चौकीमा हाल थप प्रहरी पठाइएको छ । 

कसरी बरामद भयो सुन ?
गत ११ पुसमा केरुङबाट नेपाल आउँदै गरेका सवारी जाँचका क्रममा ना। ६ ख ४९३२ नम्बरको कन्टेनरमाथि प्रहरीले खानतलासी गर्‍यो । त्यसक्रममा प्रहरीले चालक फुर्वा तामाङको साथबाट चार सय २२ ग्राम सुन बरामद गर्‍यो ।

जुन सुनको बजारमूल्य हाल करिब २८ लाख रुपैयाँ पर्छ । तर, बरामद गरिएको सुन कानुनी प्रक्रियाका लागि राजस्व अनुसन्धान विभागमा पठाउनुपर्नेमा ती प्रहरीले आपसमा बाँडफाँट गरी लिएका थिए । चालकलसहित विभागमा बुझाउनुपर्नेमा तामाङलाई छाडिएको थियो ।

घटना सार्वजनिक भएलगत्तै रसुवा जिल्ला प्रशासनले प्रारम्भिक छानबिन गरेर थप छानबिनका लागि गृह मन्त्रालयमा पठाएको थियो ।

गृहले प्रहरी प्रधान कार्यालयलाई छानबिनका लागि निर्देशन दिएबमोजिम प्रधान कार्यालयबाट बागमती प्रदेश प्रहरीलाई निर्देशन गएको थियो । बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी किशोरकुमार दाहाल नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा प्रहरीको मिलेमतो देखिएको उल्लेख छ ।

बरामद सुन उनीहरूले काठमाडौंको सुन पसलमा बिक्री गरेर पैसा बाँडेर लिएका हुन् । स्रोतका अनुसार यो घटनामा प्रहरीबाहेक व्यापारी, कर्मचारी र जनप्रतिनिधिसमेतको संलग्नता छ ।

प्रहरी प्रधान कार्यालयले समेत सो प्रकरणमा थप अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न गिरोह, तस्करीको सुन किन्ने व्यापारीलगायत माथि समेत छुट्टै अनुसन्धान भइरहेको छ । नयाँ पत्रिका

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्