रास्वपाको महाधिवेशनमा करिब चार करोड खर्च हुने अनुमान
काठमाडौँ, ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ। पार्टीले प्रतिनिधिको दर्ता शुल्क तथा सदस्य र शुभेच्छुकबाट प्राप्त सहयोगमार्फत खर्च व्यवस्थापन गर्ने जनाएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गरी निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यसबाट मतदान र मतगणना छिटो सम्पन्न हुने तथा खर्चसमेत कम हुने अपेक्षा गरिएको छ।
महाधिवेशनमा दुई हजार ५०० देखि तीन हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। विदेशस्थित सम्पर्क समितिबाट ३८ भन्दा बढी देशका १७० प्रतिनिधि सहभागी हुनेछन्।
सचिवालय बैठकले पार्टीको विधान संशोधन गरी केन्द्रीय समिति १५१ सदस्यीय बनाउने तथा प्रदेश सभापतिलाई पदेन सदस्य बनाउने प्रस्ताव पनि तयार गरेको छ।
रास्वपाले असार ७ गते चितवनमा महाधिवेशनको उद्घाटन गर्ने तयारी गरेको जनाएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












