उद्योग वाणिज्य महासंघमा ६० करोड बेरुजु, छानविन गर्दै अख्तियार


 


काठमाडाैं, चैत्र १
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको नाममा करिब ६० करोड रुपैयाँ बेरुजु देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असुल गर्न निर्देशन दिएको छ । अख्तियारले शुक्रबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सो निर्देशन दिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको संयुक्त साझेदारीमा सार्वजनिक निजी अवधारणाअनुरूप सञ्चालित ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम सम्पन्न गर्ने क्रमममा विभिन्न समयमा गरी महासंघको नाममा करिब ६० करोड रुपैयाँ बेरुजु रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम सञ्चालनका लागि आर्थिक वर्ष २०६९र७० देखि आव २०७४र७५ सम्म झन्डै ६० करोड रुपैयाँ कृषि उद्यम केन्द्रको नाममा बजेट विनियोजन भएको थियो । सोही बजेटबाट मुलुकभरका विभिन्न जिल्लामा गरिनुपर्ने कार्यक्रमका सबै खर्चको बिल भौचर एवं विवरण नबुझाएकै कारण महासंघको नाममा यति धेरै बेरुजु रहेको मन्त्रालय स्रोतको दाबी छ ।

अख्तियारले महासंघलाई खर्चमा मितव्ययिता अपनाउनसमेत निर्देशन दिएको छ । अख्तियारले केन्द्रको बजेट खर्चदेखि कामसम्मका विषयमा विविध अनियमितता पहिचान गरी थप कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको हो । (राजधानी दैनिक)

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्