गभर्नर नियुक्ति गर्न समिति गठन


 


काठमाडौं, चैत्र १८
सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिश समिति गठन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिश गर्न आइतवार बसेको मन्त्रिपरिषद् बैंठकले समिति गठन गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार सिफारिश समितिको सिफारिशको आधारमा नेपाल सरकारले गभर्नर नियुक्त गर्छ । ऐनमा मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिका लागि अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्नुपर्ने व्यवस्था छ । सदस्यमा पूर्वगभर्नरहरू मध्येबाट एकजना सदस्य र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका एक प्रतिष्ठित व्यक्ति हुनुपर्ने कानूनी प्रावधान छ ।

अर्थ मन्त्रालयका अनुसार समितिमा पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बास्कोटालाई सदस्य बनाइएको छ । सरकारले गठन गरेको गभर्नर सिफारिश समितिले यथासक्दो छिटो तीनजनाको नाम सरकारसमक्ष पठाउने सहसचिव उत्तरकुमार खत्रीले बताए । सो समितिले गभर्नर नियुक्तिका लागि राष्ट्र बैंकको डेपुटी गभर्नर सहित तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिश गर्ने उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्