देशको खोजी



pradip-nepal
प्रदीप नेपाल

कथा
मलाई बोलाइयो । म गएँ । मलाई एक्लै बोलाइएको थियो । शायद अरुलाई पनि एक्लै बोलाइन्थ्यो होला । आफुलाई एक्लै देखेको हुनाले मलाई यस्तो लाग्यो ।
‘स्वागतम्’ मधुर स्वर थियो वक्ताको । महिला स्वर थियो त्यो । त्यसैले पनि मलाई मधुर लागेको हुन सक्छ ।
‘नमस्कार’ मैले यसैगरी शिष्टाचार फर्काएँ ।
उता दुई जना बसेका थिए । पति पत्नी जस्ता लाग्ने । तिनीहरु मित्र मात्र हुन पनि सक्थे । तर मेरो मनले तिनलाई पति पत्नी नै मान्यो ।
बाहिर सुनसान थियो । बाहिरको आवाज नआउने वातावरण थियो होला । भूइंभरि हरियाली पोखिएको थियो । चैत महिनाको घाम आकास ढाकेर तातेको थियो । बाहिर चर्को गर्मी थियो तर भित्र शितल थियो ।
ठूला होटेलको सुविधा नै हो यो ।
‘बस्नुस्’ उनको शिष्टाचार व्यवसायिक थियो । तर मलाई त्यो कृत्रिम लागेन ।
सोफाहरु फिँजिएका थिए कोठामा । तर मैले अलमलिनु परेन । उनले इशारा गरेको सोफामा म बसें ।
‘कफी मगाउँ ?’
मैले स्वीकृति जनाउँदै कुरो थालें ।
‘म कुनै ठूलो मान्छे होइन, म कुटनीति भन्ने शब्द बाहेक कुटनीतिको क्षेत्रमा अरु केही जान्दिन । कुटनीतिक व्यक्ति हुन मलाई मन पर्दैन । एक प्रकारले भन्ने हो भने म एउटा रुखो मान्छे हुँ । कुराकानीका क्रममा मबाट त्यस्तो शब्द निस्कियो भने मलाई माफ गर्नु होला ।’
‘मैले जस्तो सुनेकी थिएँ, जस्तो सोचेकी थिएँ, तपार्इं ठ्याक्कै त्यस्तै हुनुहुँदो रहेछ ।’
मैले थप केही बोल्नु पर्ने थिएन ।
‘सफा मन, निर्भिक अनि प्रष्टवक्ता ।’
‘हाम्रो कुराकानी थालिएकै छैन, अहिल्यै तपाईं कसरी निष्कर्ष दिन सक्नु हुन्छ ?’
‘भेट्नु भन्दा पहिले ब्यक्तिको जानकारी लिनु हाम्रो दायित्व हो’ मलाई नेपालीमै जवाफ फर्काएपछि उनले आफ्नो साथीतिर फर्किएर अंग्रेजीमा भनिन्, ‘मिस्टर करुणा, हामीले सोचेजस्तै हुनुहुँदो रहेछ उहाँ ।’
‘पुरुषको नाम करुणा ?’ म छक्क परें ।
तिनीहरु पति पत्नी पनि होइन रहेछन् ।
‘भारत विविधताले भरिएको देश हो, कसैको नाम करुणाकरन भयो भने हामी छोटकरीमा करुणा भन्छौं ।’
कफी आयो । एकछिन हामी सबै मौन भयौं ।
‘थापाजी, अब हामी ठोस कुरामा जाउँ’ उनले भनिन्, ‘तपाईं एक जना लेखक हुनुहुन्छ । भारतसँग संवन्धित तपाईंका केही लेख, टिप्पणी र सँस्मरणहरु मैले पढेकी छु । भारतप्रति तपाईं भित्र एकोहोरो विरोध भाव देख्छु म । तर तपाईंले त्यसरी सोच्नुको कुनै कारण देख्न सकिन मैले । तपाईं मलाई केही बताउन सक्नु हुन्छ ?’
‘जस्तो ?’
‘जस्तो कि, सीमा समस्या, नाकामा भारतीय सुरक्षाकर्मीहरुबाटै ठगिने, भारतीय नेपालीहरु प्रतिको नकारात्मक ब्यवहार, भारतीय नेता मात्र होइन नागरिकहरुमा पनि ठूल्दाईको भाव महसुस हुने, यस्तै यस्तै ।’
मौका उपयुक्त थियो आफ्ना कुरा राख्ने ।
‘फटाफट जवाफ दिउँ कि तपाईं मलाई अलिक लामै समय दिन सक्नु हुन्छ ?’
‘समयको कुनै समस्या छैन ।’
‘मैले आफ्नो हिसाबले भारत भ्रमण गरेको छु । पूर्वमा म नागाल्याण्डसम्म पुगेको छु । उत्तरमा म उत्तराखण्ड घुमेको छु । बंगाल, बिहार र उत्तर प्रदेश त हाम्रा लागि पानी पँधेरो नै भइ हाले । दिल्ली ओरिपरि, अर्थात आग्रा, कुरुक्षेत्र ठाउँमा पनि म पुगेको छु । बाक्लो नेपाली बस्ती भएको आसाम, सिक्किम, मेघालय र दार्जिलिङमा पनि मैले रात बिताएको छु । म जहाँ जहाँ गएँ त्यहाँ मैले दिल्लीले नेपालीलाई आफ्नो नागरिक नठानेको महसुस गरेँ …।
‘महसुस र ब्यवहार फरक फरक विषय होइनन् र थापाजी !’
‘धेरै फरक हुन् । तर ब्यवहार, भोगेरै महसुस गरिन्छ । यसमा थप अर्को कुरा पनि भनिहालुँ म । मैले देखेर यो महसुस गरेको होइन । मैले सामान्य नागरिकसँग कुरा गरें । स्कूलका शिक्षक मात्र होइन, विश्वविद्यालयका प्राध्यापकसँग पनि कुरा गरें । उनीहरुले ब्यवहारमा भोग्नु परेको कुरो नै मलाई सुनाएका हुन् । एकजना प्राध्यापकको कुरो म तपाईंलाई जस्ताको तस्तै बताउँछु । उनले भने, ‘म पुर्खाको पाचौं पुस्ता हुँ । आउन त हामी नेपालबाटै आएका हौं । तर हाम्रो पुस्तासँग नेपालको बारेमा किताबी ज्ञान मात्रै बाँकि छ । यति हुँदा हुँदै पनि हामी भारत सरकारका लागि ‘ट्रान्सप्लाण्ट’ गरिएको किड्नी जस्ता भएका छौं । राम्रा मान्छे चाहिए सरकारका लागि ब्यक्ति हुन्छौं ।नराम्रो काम कसैले ग¥यो भने हामी जात हुन्छौं – खराब काम गर्ने नेपाली । यस्तो विभेद मैले अरु कुनै समुदायमा देखेको छैन । चाहे ती मारवाडी हुन् या बंगाली । यहाँसम्म कि बिहारीहरु पनि व्यक्तिमा सीमित हुन्छन् । हामी भन्दा धेरै पछि, झण्डै तीन सय वर्षपछि पाकिस्तानबाट आएकाहरुको खराबीलाई पनि जातसँग जोडिंदैन …।’
… तपाईंलाई यो कुराको जानकारी छैन भन्ने मलाई लाग्दैन । नीतिगत तहमा बसेको, यति राम्रो नेपाली बोल्ने मान्छेले भारतीय नेपालीले भोग्नु परेको पीडा थाहा पाउनु भएको छैन भन्ने मलाई लाग्दैन । यति हुँदा हुँदै पनि मैले भोगेको कुरा बताउनु प¥यो । माफ गर्नु होला ।’
‘यत्ति दुःखद बुझाइ होला, नेपाली समुदायमा भन्ने मलाई लागेको थिएन । के तपाईं ती प्रोफेसरको सम्पर्क दिन सक्नु हुन्छ ?’
‘माफ गर्नु होला, म दिन सक्दिन । अहिले त तपाईं र ती प्रोफेसर मेरा लागि एउटै हुनु भएको छ । तपाईं पनि मसँग नेपालीमै बोलिरहनु भएको छ अनि मिस्टर करुणासँग अङ्ग्रेजीमा । ती प्रोफेसर पनि आफ्ना सहकर्मीसँग अङ्ग्रेजीमै कुरा गर्थे, मसँग नेपालीमा । तर म तपाईंलाई तिनको परिचयको सूत्र दिन सक्छु – ती प्रोफेसरका बाजेका पनि बाजेले सिलोङ शहरको स्थापना गरेका थिए ।’
‘तपाईंले यसै भन्नु होला भन्ने मलाई लागेको थियो ।’
म्याडमको अनुहार अँध्यारिएला भन्ने मलाई लागेको थियो । तर मेरो अनुमान असफलतामा गएर टुङ्गियो ।
हामी दुबै सँगसँगै हास्यौं । कफी चिसो हुँदै गएको थियो ।
‘म अध्ययन गर्छु, तपाईंले मलाई किन सूत्र मात्रै दिनु भयो म जान्दछु ।’
‘अर्को गुनासोमा प्रवेश गरौं ? तपाईंले अध्ययन गर्छु भनेपछि मैले यो प्रसङ्गलाई यहीं टुंग्याउनु राम्रो होला ।’
उनी केही बोलिनन् ।
‘हामी नेपालीको मनोभावनामा घाउ लगाउने अर्को मुद्दा हो चिथोरिएको सीमाना । तपाईं अनुमति दिनु हुन्छ भने म यसलाई पनि सविस्तार जानकारी गराउन चाहन्छु ।
‘समयको बारेमा हामीले अघि नै कुरा गरिसकेका छौं ।’
‘नेपालको पशुपतिनगरबाट दार्जिलिङ जाने बाटोमा सीमाना नाउँ गरेको एउटा बस्ती छ । त्यो बस्तीको पश्चिम किनारमा एउटा चिहान छ । त्यो नेपालको चिहान डाँडो हो । त्यसैले नेपालका लिम्बूहरुले त्यहाँ पितृपुजा गर्छन् । तर तपाईंहरुको भूभागमा गोर्खाल्याण्ड आन्दोलन चल्न थालेपछि तपाईंको सीमासुरक्षा बलले त्यो चिहान माथि कब्जा जमायो । पितृपुजाको भावनात्मक संबन्धका बारेमा मैले तपाईंलाई केही बताइरहनु नपर्ला ।’
‘म बुझ्छु’ उनले संवेदनाको स्वरमा भनिन्, ‘तर तपाईंले भनेको कुरो नै सत्य हो भनेर पत्याउने आधार के छ ?’
‘मैले जसरी त्यो डाँडोमा टेकेर चिहानहरु नियालेको छु, त्यति त तपाईंको इमान्दार मनले पनि गर्नु पर्छ । अथवा तपाईंले कर्मचारीतन्त्रको गलत रिपोर्टलाई एकछिनका लागि डस्टबीनमा हालेर आफ्नो राई लिम्बुहरुको चिहान परम्परा बुझेका कसैलाइ पठाएर ज्ञान लिन पनि सक्नु हुन्छ । हाम्रा नेपालीहरुको प्रवेश निषेध भएका वर्ष पनि तपाईंलाई थाहा हुनेछ ।’
‘एउटा फरक प्रश्न, तपाईं दार्जिलिङमा चलिरहेको आन्दोलनलाई कसरी हेर्नु हुन्छ ?’
उनका आँखा तिखा थिए । तर तिनले मलाई छुन सकेनन् ।
‘दार्जिलिङलाई रैथानेहरु गोर्खाल्याण्ड भन्छन् । यो तपाईंको मुलुकको समस्या हो । यसको समाधान तपाईंहरुले नै गर्नु पर्छ । कम्तिमा म चाहिँ अर्काको समस्यामा टाउको दुखाउन चाहन्न ।’
‘दार्जिलिङको आन्दोलन प्रति तपाईं निस्पृह हुन सक्नु हुन्छ ?’
‘कुनै समय दार्जिलिङ नेपालको थियो । हाम्रा पुर्खाले टिस्टा पुल मुनी आफ्नो रक्तरन्जित खाँडो पखालेका थिए । यो इतिहास हो । वर्तमान के हो भने दार्जिलिङ भारतको भूभाग हो । त्यसैले त्यसको दुःख स्याहार्ने जिम्मा पनि भारत सरकारको हो । मेरो बुझाइमा गोर्खाल्याण्ड भन्दा ठूलठूला सङकट बेहोरेर बाँचिरहेछौं हामी । आफ्नै समस्यामा रन्थनिनु परेको हुनाले म अर्को मुलुकको समस्यामा टाउको दुखाउन सक्तिन ।’
‘तर आन्दोलनकारी त नेपाली मूलका मानिस हुन् ।’
‘नेपाली मूलका मानिस यतिबेला संसारभरि छरिएका छन् । तिनीहरु बर्मामा छन्, हङकङ र मलेशियामा छन्, फिजीमा पनि छन् । पश्चिमतिर बेलायत र अमेरिकामा पनि समुदायको हिसाबमा चिनिने हिसाबले नेपालीहरु छरिएका छन् ।तर म्याम तपाईं किन मलाई त्यता तान्न खोज्नु हुँदैछ, म जान्दिन । दार्जिलिङ मेरो दायित्व अन्तर्गत पर्दैन । त्यसको सानो हिस्सा बरु तपाईंसँगै जोडिन्छ । मैले नेपाली भाषाका कारण यो दायित्व तपाईंसँग जोडेको हुँ । तपाईं मसँग नेपालीमा कुरा गरिरहनु भएको छ, मिस्टर करुणासँग अंग्रेजीमा । दार्जिलिङ पुग्नु भयो भने तपाईं त्यहाँ पनि नेपालीमै कुरा गर्नु होला ।’
म्याडम मुस्कुराइन् । तर बोलिनन् ।
‘त्यत्तिकै चित्त दुख्ने अर्को उदाहरण म तपाईंलाई जनाउन चाहन्छु । पत्याउनुस भनेर अनुरोध पनि गर्दिन म । तर सुन्दिनुस् ।’
उनको मौनता टुटेन ।
‘पशुपतिनगरमा जहाँ तपाईंहरुको भन्सार र अध्यागमन भवन निर्माण भएको छ, त्यो नेपालको भूमि हो । तर हाम्रो जमिन भोगचलन गरेवापत तपाईंहरुले हामीलाई दुई पैसा पनि भाडा तिर्नु भएको छैन । तपाईंहरुको तिर ठाडो पाखो छ र तपाईंहरु त्यहाँ सुरक्षित आवास बनाउन सक्नु हुन्न । हाम्रो जमिन प्रयोग गर्नु तपाईंहरुको वाध्यता पनि होला । तर त्यसबापतको भूमिकर त तपाईंहरुले तिर्नु प¥यो नि !
‘सारै मसिना कुरा उठाउनु भयो थापाजी तपाईंले ।’
‘सानाबाटै अगाडि बढ्छ कुनै पनि कुरा । अहिले मैले कालापानीको कुरो उठाएँ भने तपाईं सिधै ‘नो’ भन्नु हुन्छ ।
‘त्यो त कुनै कुरो भएन ।कालापानी क्षेत्र नेपालका ठकुरी महाराज महेन्द्रवीरविक्रम शाहले पण्डित जवाहरलाल नेहरुलाई दान दिनु भएको हो । जतिबेला उहाँले यो भूमि पण्डित नेहरुलाई दान दिनु भएको थियो त्यतिबेला नेपालको सार्वभौमसत्ता उहाँमा निहित थियो ।’
‘तर जवाहरलाल नेहरु दान लिने बाहुन त हुनु हुन्नथ्यो । त्यसबाहेक भारतको त्यतिबेलाको लोकतन्त्रले देश दान लिने कुरालाई सकारेको पनि थिएन । म्याडम, हामी तर्क नगरौं । उतिबेलाको स्थिति के थियो भने, राजा महेन्द्रले प्रजातान्त्रिक प्रणाली खारेज गरेर आफ्नो तानाशाहीतन्त्र स्थापना गरेपछि बेलायतले त्यसलाई पहिलो समर्थन दियो । तर भारतले समर्थन दिएन । भारतको समर्थन बिना आफ्नो सत्ता टिक्दैन भनेर बुझ्न सक्ने क्षमता हाम्रा राजा महेन्द्रमा थियो । चीन र भारत बीचको युद्ध र तनावका बारेमा पनि राजा महेन्द्रको राम्रो ज्ञान थियो । चीन उनको पक्षमा थियो । भारतले रिझिन कालापानीको भुखण्ड माग्यो । राजा महेन्द्रले कालापानी भूखण्ड पाएपछि भारतमा निर्वासित भएर बसेका कांग्रेस र कम्युनिस्ट पार्टीका नेताहरुलाई नेपाल–भारत सिमा क्षेत्रबाट पचास किलोमिटर टाढाको भारतीय भूमिमा थेच्याउने काम भयो ।’
म्याडमले एकोहोरो मेरो अनुहारमा हेरिन् । हेरिरहिन् ।
‘इस्युहरुमा गयौँ भने हामी कहिल्यै निष्कर्षमा पुग्न सक्तैनौं । समग्रमा कुरा गरौं ।’
कफि चिसो भैसकेको थियो ।
हाम्रो मन पनि चिसिइसकेको थियो ।
२ फागुन २०७२
काठमाण्डौ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News