कुवेतमा २२ जना नेपाली अलपत्र


 


कुवेत, असाेज १

कुवेतको खलिफा दड अल—दबुस एण्ड ब्रोज कम्पनीमा कार्यरत २२ जना नेपाली अलपत्र परेका छन् । अलपत्र परेकाहरुको कम्पनीले भिसा नलगाएकाले वैधानिक हैसियत समेत गुमेको छ । उनीहरु झण्डै सात महिना अघि काठमाडौंको फोकस नेपाल ओभरसिज म्यानपावर मार्फत कुवेत आएका थिए ।

उनीहरु माहाबुलाको ब्लक नम्बर २ को स्ट्रिट नम्बर ३५ स्थित कम्पनीको क्याम्पमा बस्दै आएका छन् । कम्पनीले सुरुका दुई महिनासम्म राम्रैसँग काममा पठाएको र तलब पनि दिएको थियो । तर त्यसपछि अहिलेसम्म काममा नपठाएको र तलब पनि चार महिनादेखि नपाएकाले जीवन गुजारा गर्न अप्ठेरो भएको पीडितहरुले बताएका छन् ।

कम्पनीमा कुरा राख्दा भिसा लगाइदिने आश्वासन मात्रै दिने र कुवेतस्थित नेपाली दूतावासले चाँडै समस्या समाधान गर्ने आश्वासन मात्रै दिएको उनीहरु बताए ।  उनीहरुलाई एक महिना देखि कुवेतका केही संघसंस्थाले दैनिकीका लागि आवश्यक खाद्यान्न र नगद सहयोग गरेका छन् ।

अवैधानिक भएपछि हिँडडुल गर्न पनि समस्या भएको बाराका अजय शर्माले बताए । अर्का पीडित प्रकाश धमालाले आफूहरुलाई चाँडो नेपाल फर्काउन पहल गरिदिन नेपाली दूतावास र संघसंस्थासँग आग्रह गरे ।

दुई वर्षे सम्झौता गरी ती कामदार मासिक न्युनतम ८० कुवेती दिनारमा काम गर्न आएका हुन् । काठमाडौंको फोकस नेपाल ओभरसिज म्यानपावरलाई ८० हजारदेखि एकलाख रुपैयाँसम्म बुझाएर आएको पीडितहरुले बताएका छन् ।

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्