‘श्रीमती’ उपन्यासमाथि अमेरिकामा समीक्षा
अमेरिका । अमेरिका निवासी लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्वारा लिखित उपन्यास ‘श्रीमती’ माथि समीक्षा गरिएको छ।
२१३औँ भानुजयन्तीका अवसरमा स्टार स्कलर्स नेटवर्क अमेरिका ले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले ‘श्रीमती’ उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिकामाथि सार्थक बहस सिर्जना गरेको बताएका छन्।
कार्यक्रममा मेरिल्याण्ड राज्यका सांसद डा. हयारी भण्डारीले उपन्यासले नेपाल र प्रवास जीवनका बहुआयामिक पक्षलाई समेटेको बताए। उनले विभिन्न पात्रमार्फत सुदूरपश्चिमको जनजीवन, स्थानीय भाषा र संस्कृतिको प्रभावकारी चित्रण गरिएको उल्लेख गर्दै जन्मभूमि र प्रवासमा भोगिएका अनुभवलाई श्रीमान्–श्रीमतीको सहकार्यसँग जोडेर प्रस्तुत गरिएको धारणा राखे।
साहित्यकार तथा पत्रकार मधुकर अधिकारीले ‘श्रीमती’ लाई पछिल्लो समय लेखिएका प्रवासी साहित्यका उत्कृष्ट कृतिमध्ये एक भएको बताए। उनका अनुसार उपन्यासकारले समाजको संरचनागत कार्यात्मकतालाई पात्रमार्फत बहुआयामिक रूपमा प्रस्तुत गरेका छन्।
मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक कृष्ण विष्टले उपन्यासमार्फत समाजमा श्रीमतीको भूमिकाबारे गम्भीर विमर्श गरिएको बताए।
कार्यक्रममा स्टार स्कलर्सका अध्यक्ष प्रा. डा. उत्तम गौली, डा. दीपक कोइराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले उपन्यासका विभिन्न पक्षबारे चर्चा गरेका छन्।
लेखक तीर्थराज पाण्डेयले पुस्तक प्रकाशनको पृष्ठभूमिबारे जानकारी दिएका थिए। कार्यक्रममा अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्द, अनेसास बोर्ड अफ ट्रस्टीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, अर्जुन हमाल र दमन विक्रम शाहलगायतले पुस्तकबारे टिप्पणी गरेका छन्।
दोस्रो पुस्ताका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ, स्वर्णिम त्रिपाठी, मलिना छन्त्याल र सहिसा छन्त्यालले पनि पुस्तकप्रति आफ्ना धारणा राखेका छन्।
कार्यक्रममा साहित्यकार, लेखक, कवि तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सामाजिक विषयवस्तुमा आधारित ‘श्रीमती’ उपन्यासका मुख्य पात्र वितुर र धिमही हुन्। सुदूरपश्चिममा जन्मिएर हुर्किएका यी पात्रहरू कोरिया, जापान हुँदै अमेरिका पुगेपछि श्रीमान्–श्रीमतीबीचको पारस्परिक सहयोग र सम्बन्धले सफलता हासिल गरेको यात्रालाई उपन्यासमा चित्रण गरिएको छ। उक्त कृति स्टार स्कलर्स ले प्रकाशन गरेको हो।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार










