लकडाउनमा २९ उडानमार्फत २६ सय विदेशी बाहिरिए


 


काठमाडाैँ, चैत्र २५
सरकारले लकडाउन घोषणा गरेयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २९ उडान भएका छन् । गत चैत १४ देखि आइतबारसम्म २९ उडानमार्फत २ हजार ६ सय ४८ विदेशी यात्रु बाहिरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलका अनुसार विभिन्न दूतावासले गरेको चार्टर उडानमार्फत २९ उडान भएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लागेपछि पर्यटकहरू अलपत्र परेका थिए । विभिन्न स्थानबाट उद्धार गरेर काठमाडौं ल्याएपछि दूतावासहरूले आफ्ना नागरिकहरू धमाधम फिर्ता लगेको पौडेलले जानकारी दिए ।

आतबार पनि २ सय ९८ अमेरिकन नागरिक कतार एयरवेजको उडानमार्फत आफ्नो देश फिर्ता भएका छन् । शनिबार जर्मन, फ्रेन्च, मलेसियन र चेकरिपब्लिक दूतावासले ४ वटा जहाज चार्टर गरेर नागरिक फिर्ता लगेको पौडेलले जानकारी दिए ।

जर्मनी दूतावासले मात्रै चैत १४ यता चारवटा चार्टर उडान गरेर नागरिक फिर्ता लगेका छन् । अझै काठमाडौंमा १ हजारभन्दा बढी विदेशी घरफिर्ताका क्रममा रहेका छन् । जापान, बेलायत, दक्षिण कोरियालगायत देशहरूले अझै आफ्ना नागरिक लगेका छैनन् । बेलायतले नेपाल वायुसेवा निगमको जहाज चार्टरको तयारी गरेको छ ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्