मनसुनी बाढीमा गलत सूचना रोक्न टिकटकको विशेष ‘सर्च गाइड’



काठमाडौँ । टिकटकले मनसुनी वर्षा, बाढी तथा प्राकृतिक विपद्का समयमा सही र विश्वसनीय जानकारीको पहुँच बढाउन नेपालमा विशेष ‘सर्च गाइड’ सुविधा सुरु गरेको छ।

कम्पनीले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार बाढीसम्बन्धी सामग्री खोज्ने नेपाली प्रयोगकर्ताले अब प्रमाणित स्रोतबाट सूचना लिन प्रोत्साहित गर्ने विशेष ब्यानर देख्नेछन्। यसमार्फत प्रयोगकर्ताले नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल (BIPAD), टिकटकको सेफ्टी सेन्टर तथा ट्र्याजिक इभेन्ट सपोर्ट गाइड मा सिधै पहुँच पाउनेछन्।

टिकटकका अनुसार प्राकृतिक विपद्का बेला गलत सूचना फैलिन नदिन र प्रयोगकर्तालाई अद्यावधिक तथा विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले यो पहल गरिएको हो।

सर्च गाइडमा बाढी, पहिरो तथा अन्य विपद्सम्बन्धी जानकारीका साथै मानसिक स्वास्थ्य सहयोग कसरी प्राप्त गर्ने, संवेदनशील घटनासम्बन्धी सामग्री जिम्मेवारीपूर्वक कसरी साझेदारी गर्ने र आपत्तिजनक सामग्री कसरी रिपोर्ट गर्ने भन्ने विषय पनि समावेश गरिएको छ।

टिकटकका दक्षिण एसियाका लागि पब्लिक पोलिसी एन्ड गभर्मेन्ट रिलेसन्स प्रमुख फिरदौस मोत्ताकिनले संकटको समयमा सही सूचना अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै समुदायले जानकारी खोज्ने स्थानमै विश्वसनीय स्रोत उपलब्ध गराइएको बताउनुभएको छ।

टिकटकले यो पहललाई सुरक्षित, उत्तरदायी र विश्वसनीय डिजिटल वातावरण निर्माण गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको जनाएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताले महत्वपूर्ण समयमा सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र जिम्मेवारीपूर्वक डिजिटल सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले यस्तो सुविधा सञ्चालनमा ल्याइएको हो।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार