के होला मार्सेलोको भविष्य ?


 


मड्रिड, बैशाख ७ एजेन्सी

रियल म्याड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले कोरोना भाइरसका कारण फुटबल स्थगित भएपछि स्पेनिस क्लबमा आफ्नो भविष्य लम्ब्याउने अन्तिम मौका पाएका छन् ।

पछिल्लो दुई सिजन रियल म्याड्रिडमा निकै संघर्ष गरिरहेका मार्सेलो पछिल्लो केहि महिनायता लगातार चोटको शिकार बन्दै आएका छन् । उनी चोटका कारण मैदान बाहिर रहेको बेलामा कोरोना महामारी फैलिएपछि फुटबल स्थगित भएको छ । जिदानले क्लब छोडेपछि टोलीमा स्थान बनाउन संघर्षरत मार्सेलो पुनः जिदान फर्किएपनि टोलीमा नियमित स्थान बनाउन भने असफल रहेका छन् ।

फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले लेफ्ट ब्याकको भूमिकामा मार्सेलोलाई पछाडी पारेका छन् । सन् २०२२ सम्म रियल म्याड्रिडमा सम्झौता रहेका मार्सेलोलाई अब क्लबमा रहन फुटबल सुरु भएपछि अन्तिम अवसर हुनेछ । मार्सेलोलाई अनुबन्ध गर्न इटालियन क्लब युभेन्ट्सले पनि प्रयास गरेको छ । तर मार्सेलो रियलको पहिलो टोलीमा स्थान बनाउन सके स्पेनमै रहन चाहन्छन् ।

त्यसो त अर्को सिजन मार्सेलोले मेन्डीसँगै अर्का लेफ्ट ब्याक सर्जियो रेगुलिओनसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सर्जियो हाल लोनमा सेभिल्ला पुगेका छन् र उनले त्यहाँ राम्रो प्रदर्शन गरिरहेका छन् । लोनमै डर्टमुन्ड पुगेका अक्रफ हाकिमी पनि लेफ्ट ब्याक भूमिका निर्वाह गर्न सक्छन् र रियलले उनलाई क्लबमा नै राख्ने प्रबल सम्भावना छ ।

अघिल्ला सिजनमा रेगुलिओन र थियो हर्नान्डेजको चुनौतीलाई पछाडी पारेका मार्सेलो अब मेन्डीभन्दा अगाडी आउन चाहन्छन् । यसका लागि उनलाई लकडाउनपछि सुचारु हुने लिगमा प्रदर्शन गर्न आवश्यक छ । रियलका लागि ४ पटक च्याम्पियन्स लिग जिताएका मार्सेलो जिदानको विश्वास जित्न प्रयासमा हुनेछन् ।

प्रकाशित मिति: ७ बैशाख २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्