साउदी अरबमा ४६ नेपाली बिचल्लीमा


 


साउदी अरब, असोज ४

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका ४६ नेपाली विचल्लीमा परेका छन् । ५ महिना अघि साउदी अरवको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनीमा कार्यरत उनीहरु बिचल्लीमा परेका हुन् ।

सुरुमा कम्पनीमा राम्रै व्यवहार भएपनि पछिल्लो समय काम नदिइएको र तलब नपाउँदा विचल्लीमा परिएको पीडित मध्येका एक उदरपुरका ओमराज कार्कीले जानकारी दिए । ‘काम पनि छैन र तलब पनि दिइएको छैन, चाँडै उद्दारको पहल नगरिए हामी भोकभोकै बस्नुपर्ने अवस्था आउँछ’, उनले भावुक हुँदै भने ।

आफूहरुले कम्पनीलाई कि काम दिन त कि नेपाल फर्काउन आग्रह गरेपनि जहिल्यै काम दिन्छौं भनेर टार्ने गरेको उनले बताए । काठमान्डौ स्थित सामाखुसी चोकमा रहेको गल्फ म्यानेजमेण्ट म्यानपावर कम्पननीलाइ जनही ८५ हजार देखि १ लाख रुपैयाँसम्म रकम बुझाएर गत बैशाख २३ गते उनीहरु साउदी पुगेका थिए ।

अलपत्र परेका पिडित नेपालीहरुलाई संचार सुबिधाबाट समेत बन्चित गराइएको छ । उनीहरुलाइ फोन, नेट चलाउन समेत नदिएको र मुस्किलले सम्पर्क गरेको भन्दै उद्धारका लागि पहल गरिदिन रातोपाटीमार्फत आग्रह गरे ।

४६ जना मध्ये एक जनासँगमात्र ०५९२९७८०११ मोबाइल चालू रहेको उनीहरुले बताए। पीडित मजदुरहरुलार्इ हाल केही नेपाली साथीभाइ र आसपासका मस्जिदले खानपिनको ब्यबस्था गर्दै आएको साउदीमा कार्यरत न्यानो नेपालका सदस्य मिनराज भण्डारीले जानकारी दिए।

‘उनीहरुको अबस्था दयनिय छ, उद्धारमा छिटो सरकारको ध्यान पुगोस्’, उनले भने। अलपत्र नेपालीले रियादस्थित नेपाली राजदुतावासमा पनि जानकारी गराएको तर उद्धारमा आजसम्म कुनै चासो नदिएको गुनासो गरे । उनीहरुले चाँडोभन्दा चाँडो उद्दारको लागि पहल गरिदिन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्