भारतीय सेना फिर्ता


 


काठमाडौं जेठ २१

वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि खोज तथा उद्धार कार्यका लागि आएको भारतीय सेनाको टोली बिहीबार फर्किएको छ। उद्वार सामग्रीलगायत हवाई साधन सहित भारतीय सेना फर्किएको नेपाली सेनाले जनाएको छ।

भारतीय सेनाले आम विनाशकारी भूकम्प गएको छ घण्टाभित्रै खोज तथा उद्धार टोलीलगायत आवश्यक पर्ने उद्धार सामग्री एवम् हवाई साधनसहित नेपाल आइ सहयोग गरेको थियो।
उद्धारका क्रममा भारतबाट विभिन्न समयमा भारतीय सेनाको ७११ खोज तथा उद्धार टोली, २२६ मेडिकल टोली, ३३२ जना इन्जिनियर तथा २२६ जना एयर फोर्स गरी कुल एक हजार ४१५ जना साथै एमआई १७ हेलिकप्टर आठ एवम् एएलएच हेलिकप्टर पाँच वटा आएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
मेडिकल टोलीले लगनखेलमा अस्पताल सञ्चालन गरी ६७१ जना भूकम्प पीडित घाइते तथा बिरामीलाई उपचार गरेको साथै सिनामङ्गलमा अस्पताल सञ्चालन गरी दुई हजार ३१० जना भूकम्प पीडित घाइते तथा बिरामीलाई उपचार गरेको थियो ।
यसैगरी उक्त मेडिकल टिमले नेपाली सेनाको मेडिकल टिमसँग संयुक्तरुपमा गोरखा जिल्लाको बारपाक, धादिङवेशी र दोलखाको चरिकोटमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी भूकम्प पीडित घाइते तथा बिरामीलाई उपचार सेवा प्रदान गरेको थियो ।
यसैगरी भारतीय वायुसेनाको एमआइ १७ र एलएच हेलिकप्टरले नेपाली सेनासँग समन्वय गरी काठमाडौं, तथा पोखरामा तैनाथ गरी खोज, उद्धार तथा राहत पुर्या्उने कार्यमा सहयोग गरेको थियो।
विनाशकारी भूकम्पपछि भारत सहित १८ मुलुकका सेनाहरूको टोली आवश्यक उद्धार सामग्री, हवाई साधन तथा विशेष तालिम प्राप्त कुकुरसहित नेपाल आएको थियो। रासस

प्रकाशित मिति: २१ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्