कोरोनाविरुद्धको एन्टिबडी तयार, संक्रमण रोक्ने आशा


 


फाइल तस्वीर

एजेन्सी
वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९)लाई जित्न सक्ने ‘मोनोक्लोनल एन्टिबडी’ (एन्टिबडी ४७डि११) प्रयोगशालामा तयार पारेका छन् । यसको सहयोगबाट कोरोनाको उपचार हुने तथा महामारी फैलनबाट रोकिने उनीहरूको अपेक्षा छ । 

नेदरल्यान्ड्सस्थित युट्रेच विश्वविद्यालयको प्रयोगशालामा गरिएकोे ‘सेल कल्चर’ परीक्षणमा उक्त एन्टिबडीले कोरोना भाइरसलाई मत्थर पार्न सफल भएको छ । उक्त एन्टिबडी कोरोना संक्रमणको उपचारका लागि उपयोगी साबित हुन सक्ने आशा वैज्ञानिकहरूमा देखिन्छ ।

कोरोनाबाहेकका रोगका लागि पनि विभिन्न औषधिसँग संयुक्त वा एकल रूपमा सो एन्टिबडी उपयोगी हुने दाबी नेचर कम्युनिकेसन जर्नलमा छापिएको रिपोर्टमा उल्लेख छ ।

मोनोक्लोनल एन्टिबडी प्रयोगशालामा सिर्जना गरिने त्यस्तो प्रोटिन हो, जसले शरीरभित्रका भाइरस र ब्याक्टेरियासँग लड्न सक्ने अन्य प्रोटिन पैदा गर्छ ।

यस्तो एन्टिबडीले मानव शरीरमा भएको रोग प्रतिरोधात्मक प्रणालीलाई सहयोग पुर्याउँछ, जसका कारण शरीरभित्र प्रवेश गर्ने भाइरस निश्तेज हुन्छन् । एन्टिबडीले शरीरका विभिन्न भागमा रहेका भाइरसका प्रोटिनलाई पहिचान गरी मत्थर बनाउँछ ।

मोनोक्लोनल एन्टिबडी यसअघि पनि केही औषधिसँगको संयुक्त प्रयोगबाट क्यान्सर निदानमा उपयोगी भएको विज्ञहरू बताउँछन् । इबोलाको निदानमा पनि अन्य दुई एन्टिबडी थोरापी प्रभावकारीसिद्ध भएका थिए ।

प्रकाशित मिति: २५ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्