आयुर्वेद सेवा विस्तार र स्वास्थ्य पर्यटन प्रवर्द्धनमा सरकारको जोड



काठमाडौँ, ६ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनबारे उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको थियो।

मन्त्री मेहताले नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताइन्। सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

छलफलमा पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र तथा बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइयो।

सहभागीहरूले आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने, जडीबुटी उत्पादन र औषधि उद्योगको मूल्य शृङ्खला विकास गर्ने तथा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने सुझाव दिएका थिए।

मन्त्रालयका अनुसार छलफलबाट प्राप्त सुझावलाई कार्यान्वयनयोग्य योजना तथा नीतिगत निर्णयमार्फत क्रमशः अघि बढाइनेछ।

Provide your feedback on BizChat

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार