दक्षिण कोरियामा नयाँ कोरोना सङ्क्रमित फेला, क्लब र बार फेरि बन्द


 



एजेन्सी
दक्षिण कोरियामा फेरि कोरोना भाइरस संक्रमण देखिएको छ। नयाँ कोरोना सङ्क्रमित देखिएपछि क्लब र बारहरू फेरि बन्द गरिएको छ ।

दक्षिण कोरियाको सरकारले एक महिनाका लागि क्लब र बारहरु बन्द गर्ने घोषणा शुक्रबार गरेको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा फेरि सङ्क्रमितहरु देखिन थालेपछि सतर्कता अपनाउन बन्द गरिएको हो ।

एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफैँ बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उदृत गरी जानकारी गराएको छ ।

सरकारले अन्य क्षेत्रमा पनि थप कडाइ गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार हालै २९ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ती व्यक्ति विभिन्न क्लबहरुमा गएर फर्केपछि सङ्क्रमित भएको पाइएको हो ।

कोरियाको रोग नियन्त्रण तथा न्यूनीकरण केन्द्रले शुक्रबार १४ जना नयाँ सङ्क्रमित भेटिएको जनाएको छ । सङ्क्रमित भएकामध्ये तीन जना विदेशी नागरिक र एक जना सैनिक रहेको केन्द्रले जनाएको छ । बिरामी सबै १९ देखि ३७ वर्षसम्मका हुन् । 

मास्क लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरुप्रति बेवास्ता गर्दै रात्रि जीवनमा रमाएकाले उनीहरु सङ्क्रमित भएको बताइएको छ । दक्षिण कोरियामा पछिल्लो केही समय कोराना भाइरसबाट सङ्क्रमित नयाँ विरामीहरु देखिएका थिएनन् ।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्