फुटबलमा बद्लियो नियम, अब पाँच खेलाडी परिवर्तन गर्न पाइने


 


काठमाडौं, बैशाख २७ एजेन्सी

कोरोना भाइरस संक्रमणका कारण ठप्प फुटबल गतिविधि सुचारु भएपछि एकै खेलमा हरेक टोलीले पाँच खेलाडी परिवर्तन गर्न पाइने भएको छ । यसअघि हरेक टोलीले ३ खेलाडी मात्र परिवर्तन गर्न पाउँथे ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने प्रावधानसहितको राखेको प्रस्ताव आईएफएबीलाई स्वीकारेपछि नियमले आधिकारिकता पाएको हो । अन्तर्राष्ट्रिय स्तरमा फुटबलको नियम स्थापित गर्ने संस्था इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड आईएफएबीले डिसेम्बर २०२० सम्मका खेलमा यो नियम लगाउन सकिने जनाएको छ । विश्व फुटबलले खेल संचालनका लागि मान्दै आएको नियम लज अफ द गेम आईएफएबीले नै संरक्षण तथा समायोजन गर्दै आएको छ ।

फिफाका प्रवक्ताका अनुसार खेलाडीको स्वास्थ्य ध्यानमा राख्दै यो कदम चालिएको हो । ‘ खेलाडीहरुले कम समयमा धेरै खेल खेल्नुपर्ने हुँदा गाह्रो हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ । त्यसैले हामीले पाँच खेलाडी परिवर्तन गर्ने प्रावधान ल्याएका हौं,’ उनले भने । हाल हरेक टोलीले एक खेलमा तीन खेलाडी परिवर्तन गर्न पाउँछन् भने अतिरिक्त समयमा खेल धकेलिए चौथो खेलाडी परिवर्तन गर्न पाइन्छ ।

फिफाले लज अफ द गेममा रहेको तेस्रो नियम अर्थात् खेलाडी परिवर्तनमा केहि समयका लागि ‘ टोलीले ५ खेलाडी परिवर्तन गर्न पाउने र अतिरिक्त समयमा लम्बिएको खेलमा छैटौं खेलाडी परिवर्तन गर्न पाउने ।’ प्रस्ताव पेस गरेको थियो । आईएफएबीले प्रतियोगिता आयोजकले चाहेमा यो नियम लगाउन पाउने जनाएको छ । यद्यपि लिग आयोजकले ३ खेलाडी नै सिमित राख्न चाहे पनि त्यसलाई निरन्तरता दिन पाउनेछन् ।
अब हरेक टोलीले अधिकतम ५ खेलाडी परिवर्तन गर्न पाउनेछन्

हरेक टोलीले खेल चलिरहँदा ३ पटक मात्र खेलाडी परिवर्तन गर्न पाउनेछन्, हाफटाइममा पनि खेलाडी परिवर्तन गर्न पाइनेछ

यदि एकै समयमा दुवै टोलीले खेलाडी परिवर्तन गरेमा दुवै टोलीले १–१ पटक खेलाडी परिवर्तन गरेको गनिनेछ

नियमित समयमा खेलाडी परिवर्तन नगरेमा उक्त अवसर र खेलाडी परिवर्तन गर्ने प्रावधान अतिरिक्त समयमा पनि मान्य हुनेछ । अतिरिक्त समयमा हरेक टोलीले थप एक खेलाडी परिवर्तन गर्न पाउनेछन् ।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्