विदेशमा अलपत्र परेका चार नेपाली नागरिकलाई भारतद्वारा उद्धार


 


काठमाडौं, जेठ १२
भारतले अष्ट्रेलिया र इण्डोनेशियामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ४ नेपालीलाई पनि उद्धार गरेर भारत ल्याएको छ । कास्की घर भएका तीन जना र चितवन घर भएकी एक जना नेपाली विद्यार्थीलाई आफ्ना नागरिक उद्धार गर्न जाँदा त्यहाँ स्थित नेपाली दूतावासको आग्रहपछि आफ्ना नागरिकसँगै नयाँदिल्ली ल्याएको हो ।

कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएको छ । साथै चितवन रत्ननगरकी एक नेपाली विद्यार्थी सेविका ढकाललाई पनि आफ्ना नागरिकसँगै भारत ल्याएको हो ।

उद्धार गरिएका ४ नेपाली मध्ये तीन जना बाबु–छोराहरु हुन् । एक छोरा बोनम्यारो सम्बन्धी विरामी छन् । अर्का छोराले बोनम्यारो दान गर्नेछन् भने बुवा हेरचाहका लागि हुनेछन् ।

बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने बिरामी भएकाले अष्ट्रेलियास्थित नेपाली दूतावासले गरेको अनुरोधमा उनीहरुलाई दिल्लीसम्म ल्याइएको थियो । त्यस्तै चितवन रत्ननगरकी सेविका भारतस्थित महर्षी मार्कण्डेय विश्वविद्यालयमा बिबिए अध्यनरत सेविका विद्यार्थी एक्सचेन्ज कार्यक्रम अन्तर्गत आफ्नो विश्वविद्यालयलाई प्रतिनिधित्व गर्दै ईण्डोनेशीयाको एरिलंगा विश्वविद्यालय पुगेकी थिइन् । उनलाई पनि भारतीय नागरिकसँगै भारत ल्याइएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्