पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र विश्वसनीय बनाउन सुझाव आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना



काठमाडौँ, ६ साउन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता तथा सञ्चार क्षेत्रलाई थप सबल, जिम्मेवार र विश्वसनीय बनाउन सरोकारवाला निकायको रचनात्मक सुझाव आवश्यक रहेको बताउनुभएको छ।

अनलाइन पत्रकार सङ्घका पदाधिकारीसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै सरोकारवालाका सुझावलाई प्राथमिकताका साथ समावेश गरिने बताउनुभयो।

उहाँले आमसञ्चार विधेयकबारे मन्त्रालयस्तरमा छलफल सुरु भइसकेको र आवश्यक परामर्शपछि मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो। मिडिया काउन्सिल विधेयकका विषयमा पनि सरोकारवालासँग थप परामर्श गरेर अघि बढिने उहाँको भनाइ थियो।

डिजिटल सञ्चारमाध्यमको प्रयोग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले समयानुकूल कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा जोड दिँदै उहाँले गलत सूचना, भ्रामक सूचना तथा घृणाजन्य अभिव्यक्तिलाई नियन्त्रण गर्न आवश्यक कानुनी प्रबन्ध गरिने जानकारी दिनुभयो।

पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने नभई थप सुदृढ र जिम्मेवार बनाउने उद्देश्यले नीति तथा कानुन निर्माण गर्न लागिएको स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले राज्यले पत्रकारितामाथि हस्तक्षेप गर्ने नीति नलिने बताउनुभयो।

छलफलमा अनलाइन पत्रकार सङ्घका पदाधिकारीहरूले लोककल्याणकारी विज्ञापन वितरणमा अनलाइन सञ्चारमाध्यमलाई पनि समान अवसर दिनुपर्ने माग गरेका थिए। साथै डिजिटल पत्रकारितासम्बन्धी कानुनी व्यवस्था बनाउँदा पर्याप्त अध्ययन, परामर्श र पत्रकारको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।

छलफलमा सञ्चार क्षेत्रको नीतिगत सुधार, डिजिटल सञ्चारमाध्यमको व्यवस्थापन तथा जिम्मेवार सञ्चार प्रणाली निर्माणबारे विचारविमर्श भएको थियो।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार