सफल कप्तानको असफल कथा


 


काठमाडौं, जेठ १८

पारस खड्का नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दा पारसले नेपाललाई नयाँ उचाईमा पुर्याए ।

कप्तानी सम्हाल्ने बेला पत्याउन नसक्ने जस्तै देखिएका टि२० विश्वकप खेल्ने र ओडिआई मान्यता लगायतका थुप्रै सपना पुरा गरेरै देखाए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ मएखी ३ सम्मको उपाधि जित्यो । पारसकै कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेल्दा सन् २०१८ मा ऐतिहासिक एक दिवसिय मान्यता प्राप्त गर्यो ।

सिमित स्रोत र साधनका बीच पारसले एकपछि अर्को सफलता दिलाउँदै एसोसिएट राष्ट्रमा नेपाललाई एउटा बलियो टोली बनाउन सफल भए । पारसको कप्तानीसँगै प्रर्दशन पनि उत्कृष्ट रह्यो । पारसको कप्तानीमा नेपालले अझै केहि समय खेल्ने समर्थक र शुभचिन्तकले अनुमान गरेका थिए । तर पारसले नाटकीय रुपमा गतवर्ष कप्तानबाट राजिनामा दिदै सबैलाई आश्चर्य पारे ।

पारसको कप्तानीमा नेपालले आफुभन्दा कमजोर टोलीसँग हार्न पुग्यो । सहजै जित्नसक्ने स्तरका टोलीसँग नेपालले अप्रत्याशित हार पनि बेहोर्नु पर्यो । समग्रमा सफल कप्तान पारसले कप्तानीमा बेहोरेका ५ अप्रत्याशित हार यस प्रकार छन् ।
मलेसियासँग, २००९ एसिसी टि२० कप

पारसले नेपाली क्रिकेट टोलीको नेतृत्व भर्खर सम्हालेका थिए । सन् २००९ मा युएईमा भएको एसिसी टि२० कपमा नेपाली टोलीको नेतृत्व पारसले गरेका थिए । पारसले कप्तानी गरेको पहिलो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित हुन पुग्यो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन जोडेको थियो ।

ओपनर महबुब आलमले ३१ र परेश लोहनीले १९ रन बनाउन बाहेक अन्यको प्रर्दशन राम्रो रहेन । १ सय १३ रनको विजयी लक्ष्य मलेसियाले १७।२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्दै नेपाललाई निराश बनाएको थियो । अहमद फैजले अविजित ४० रनको योगदान दिएपछि मलेसियाले सहजै जित दर्ता गरेको थियो ।

कुवेतसँग, २०१२ एसिसी ट्रफी इलिट कप

सन् २०१२ मा एसिसी ट्रफी इलिट कपमा नेपालले घरेलु टोली युएईलाई ४ विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो । बलियो टोली युएईलाई हराएको नेपालले दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर कुवेतविरुद्ध सहज जित निकाल्ने पुर्व अनुमान थियो । टस जितेर ब्याटिङ राजेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८० रन बनाएको थियो ।

नेपाललाई बलियो योगफलमा पुर्याउन कप्तान पारसले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गर्नेक्रममा ७७ बलमा ७ चौका र ४ छक्का सहित १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए । तर कुवेतले उक्त लक्ष्य २२ बल अगाडीनै ६ विकेटको क्षतिमा पुरा गर्दै सनसनीपुर्ण जित निकालेको थियो । कुवेतको जितमा सिब्तन राजा ७७, मोहम्मद कासिफ ५९ र अबीद मुस्ताकले ५४ रनको अर्ध शतकीय योगदान दिएका थिए । पारस र शक्ति गौचनले समान २ विकेट लिएपनि त्यो जितको लागि पर्याप्त भएन ।

जर्सीसँग, २०१५ आइसिसी विश्व टि२० क्वालिफायर

टि२० विश्वकप पहिलो सहभागितामै बंगलादेशमा उत्कृष्ट प्रर्दशन गरेको नेपालबाट २०१५ को आइसिसी वल्र्ड टि२० क्वालिफायरमा उच्च प्रर्दशनको आशा गरिएको थियो । नेपालले सहजै अर्को वर्ष भारतमा हुने टि२० विश्वकपमा स्थान बनाउने धेरैले अनुमान गरेका थिए । नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले हराउँदै राम्रो सुरुवात पनि गर्यो । तर नेपाल आयरल्यान्डसँग ८ विकेट, हङकङसँग ५ विकेट र पप्पुवा न्युगिनीसँग ८ विकेटले पराजित हुनुको साथै नामिबियासँग पानीको कारण खेल रद्द भएपछि विश्वकपको सम्भावना सकिएको थियो ।

अन्तिम खेलमा नेपाल जर्सीविरुद्ध सहज जित निकाल्दै अन्त्य गर्ने सोचमा थियो । टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा जम्मा १ सय ५ रन बनाउन सक्यो । डेब्यु खेल खेलेका सिद्धान्त लोहनीले तल्लोक्रममा १६ बलमा समान २ चौका र छक्का सहित २७ रन जोडेपछि एक सय रनको आँकडा पार भएको थियो । जर्सीले नेपालले प्रस्तुत गरेको उक्त लक्ष्य १६।१ ओभरमा ३ विकेटको क्षतिमा सहजै पुरा गर्यो । जर्सीसँगको ७ विकेटको हारसँगै समुह ए मा रहेको नेपाल पुछारमा रहेर बाहिरिनु परेको थियो ।

कतारसँग, २०१९ आइसिसी टि२० वल्र्डकप एसिया रिजन फाइनल

गतवर्ष सिंगापुरमा भएको आइसिसी टि२० वल्र्डकप एसिया रिजन फाइनल प्रतियोगिता सुरुहुनु अघि नेपाल उपाधिको एक्लो दाबेदार टोली थियो । कागजमा बलियो दाबेदार नेपालले मैदानमा भने कमजोर प्रर्दशन गर्यो । नेपाल पहिलो खेलमै कतारसँग ४ विकेटले पराजित हुन पुग्यो । टस जितेर ब्याटिङ थालेको नेपाल २० ओभरमा १ सय २२ रनमा अल आउट भएको थियो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन जोडे । उक्त मध्यम लक्ष्यमा पनि नेपालले कतारलाई रोक्न सक्ने अनुमान गरिएको थियो । कतारका इनम उल हकले ३२ बलमा ६ चौका सहित ४१ रन जोडेपछि कतारले ४ बल अगाडी ६ विकेटको क्षतिमा ओडिआई मान्यता नेपाललाई हराउन सफल भएको थियो । यस खेलमा पारसको कप्तानीमै प्रश्न उठेको थियो । टोली सन्तुलन नभएको, ब्याट्सम्यान भन्दा बलर धेरै खेलाएको भन्दै पारसको चर्को आलोचना भएको थियो ।

सिंगापुरसँग, २०१९ आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल

नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएपनि मलेसिया र कुवेतलाई पराजित गर्दै टि२० ग्लोबल छनोटमा पुग्ने आशा कायमै राखेको थियो । अन्तिम खेलमा सिंगापुरलाई हराउनु पर्ने समिकरण बनेको थियो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरले घरेलु मैदानमा नेपाली बलरमाथि हाबी हुँदै २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रनको बलियो योगफल तयार पारेका थिए ।

टिम डेविडले ४३ बलमा ८ चौका र ३ छक्का सहित ७७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उक्त मैदानको स्ट्रेट बाउन्ड्री सानो भएको हुँदा उक्त लक्ष्य नेपालले पुरा गर्ने आशा कायमै थियो । तर नेपाल १५ ओभरमा मात्र १ सय ९ रनमा अल आउट हुँदै ८२ रनको फराकिलो अन्तरको हार बेहोर्दै बाहिरियो । जुन नतिजा अपेक्षा भन्दा धेरै बाहिर थियो । उक्त छनोटमा नेपालले सिंगापुर र कतारभन्दा पछाडी तेस्रो स्थानमा रहेर अन्त्य गरेको थियो ।

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्