बार्सिलोनामा के होला मेस्सीको भविष्य ?


 


बार्सिलोना, जेठ २०
क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीको क्लबसँगको सम्झौताअनुसार उनले चाहेको खण्डमा विना कुनै ट्रान्सफर रकम क्लब छाड्न सक्ने प्रावधान रहेको थियो ।

मेस्सीको सम्झौतामा उल्लेख भए अनुसार २०२० को मे महिनाको अन्त्यसम्ममा उनले आफूले चाहेको खण्डमा क्लब छाड्न सक्थे । आइतबारसम्म उनले चाहेको भए कुनैपनि क्लबमा जान ट्रान्सफर रकम तिर्नुपर्ने थिएन । मेस्सीले बोर्ड र प्रशिक्षकसँग पछिल्लो समय केहि असमझदारी भएपनि क्लब छाड्ने भने कुनै संकेत दिएका छैनन् ।

३२ वर्षीय मेस्सीले बार्सिलोनाबाहिर आफ्नो भविष्य देखेका छैनन् । र त्यसैले पनि उनले क्लब छाड्ने सम्भावना देखिन्न । तर उनले क्लबसँग नयाँ सम्झौता नगरेको कारण भने आउने दिनमा उनी क्लबमै रहनेछन् वा के गर्छन भन्ने प्रष्ट हुन सकेको छैन ।

अहिले जारी रहेको मेस्सीको सम्झौता अर्को सिजन सकिँदैछ । बार्सिलोनाले पटक पटक मेस्सीसँग सम्झौता नविकरणबारे छलफल गरेपनि ठोस नतिजा निस्कन सकेको छैन । क्लबले लामो समयदेखि मेस्सीले आफ्नो करीअर बार्सिलोनामै अन्त्य गर्ने बताउँदै आएको छ ।

पछिल्लो समय मेस्सी क्लबसँग असन्तुष्ट भएको चर्चा चल्दा दुई क्लबले उनलाई अनुबन्धन गर्ने चासो देखाएका थिए । मेस्सीले छाड्ने मनसाय बनाएको खण्डमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान उनलाई अनुबन्ध गर्न सक्ने क्षमता राख्छन् । तर मेस्सीले सार्वजनिक रुपमा नै इन्टरसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

मेस्सीले फेब्रुअरीमा एक अन्तर्वार्ताका क्रममा आफ्नो योजना बार्सिलोनामा नै रहेको बताएका थिए । त्यसका बाबजुद सन् २०१७ मा नवीकरण गरिएको सम्झौतामा कुनै हेरफेर भएको छैन । जुन २०२१ मा मेस्सीको सम्झौता सकिंदैछ । सन् २००४ मा डेब्यु गरेदेखि मेस्सीले ७ सय १८ खेलमा ६ सय २७ गोल गरेका छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्