स्पिनका यी १० जादुगर बलर


 


काठमाडौं, जेठ २४ एजेन्सी

क्रिकेटमा स्पिन बलको महत्वबारे हरेक क्रिकेटप्रेमी जानकार छन् । नहुन् पनि किन ? विश्व क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने कीर्तिमान नै स्पिन बलरको नाममा छ । तीव्र र मध्यम गतिका बलरको तुलनामा स्पिनर धेरै सफल हुँदै आएका छन् ।

तीव्र गतिका बलर भन्दा स्पिनरमा घाइते हुने जोखिम कम हुन्छ । त्यसैले स्पिनरको करीअर पनि लामो हुने गर्दछ । स्पिन बल खेल्न ब्याट्सम्यानलाई सहज हुँदैन । बलिङको गति र लाइन मात्र होइन, त्यसपछि हुने टर्नको पनि हेक्का राख्नुपर्ने हुँदा केहि कठिन हुन्छ । खेलमा स्पिनरको निकै महत्त्व हुन्छ । प्राय स्पिनरलाई मध्यक्रममा बढी प्रयोग गरिन्छ ।

विश्व क्रिकेट जगतमा एसियन पिच स्पिनर उपयोगि मानिन्छ । त्यसैले पनि एसियाली क्षेत्रमा टोलीले दुई स्पिनर टोलीमा समेट्छन् र सफलता पनि त्यसै अनुसार प्राप्त गर्छन् । विश्व क्रिकेट इतिहासका १० उत्कृष्ट स्पिनर यस प्रकार छन् ।
रंगना हेराथ श्रीलंका

श्रीलंका पुर्व स्पिनर रंगना हेराथले तीनै शैलीको क्रिकेट खेलेका छन् । श्रीलंका क्रिकेटका एक सफल बायाँ हाते स्पिनर रंगना हेराथले श्रीलंकाबाट सन् १९९९ देखि २०१८ सम्म खेलेका थिए । हेराथले ९३ टेष्ट खेलमा ४ सय ३३ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ९–१२७ रहेको छ । ७१ ओडिआई खेलमा रंगना हेराथले ७४ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ४–२० रहेको छ । त्यस्तै उनले १७ टि२० आईमा १८ विकेट लिएका छन् ।

ग्रेम स्वान इंग्ल्यान्ड

इंग्ल्यान्डका पुर्व अफ स्पिनर ग्रीम स्वानले सन् २००८ देखि २०१३ सम्म ६० टेष्ट खेलमा २ सय ५५ विकेट लिएका थिए । जसमा एक इनिङमा उनको उत्कृष्ट प्रर्दशन ६–६५ रहेको छ । समग्रमा उनको टेष्टमा उत्कृष्ट प्रर्दशन १०–१३२ रहेको छ । सन् २००० देखि २०१३ सम्म ओडिआई खेलेका उनले ९७ खेलमा १ सय ४ विकेट लिएका थिए । इकोनमी ४.५४ रहँदा उत्कृष्ट प्रर्दशन ५–२८ रहेको छ । ३९ टि२० आईमा उनले ५१ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन ३–१३ रहेको छ ।

अब्दुल कादीर पाकिस्तान

पाकिस्तानका लेग स्पिनर अब्दुल कादीर गुग्ली र लेग ब्रेक बलिङका लागि चर्चित खेलाडी थिए । इंग्ल्यान्डका पूर्व कप्तान ग्राहम गुचले एक पटक कादीर स्तरको हिसाबमा शेन वार्न भन्दा पनि उत्कृष्ट बलर रहेको बताएका थिए । सन् १९७७ देखि १९९० सम्म ६७ टेष्ट क्रिकेट खेलेका उनले १ सय ११ इनिङमा २ सय ३६ विकेट लिएका थिए । एक इनिङमा ९–५६ र एक खेलमा १३–१०१ उनको करिअरको उत्कृष्ट प्रर्दशन हो ।

कादिरले टेष्टमा १५ पटक ५ माथि विकेट लिएका थिए । त्यस्तै उनले पाँच पटक १० माथि विकेट लिएका छन् । सन् १९८३ देखि १९९३ सम्म १ सय ४ ओडिआई क्रिकेट खेलेका उनले १ सय ३२ विकेट आफ्नो नाममा गराएका छन् । त्यस्तै २ सय ९ प्रथम श्रेणीको खेलमा उनले ९ सय ६० विकेट लिएका छन् ।

हरभजन सिंह भारत

भारतीय क्रिकेट टोलीका स्पिनर हरभजन सिंह एक सफल बलर हुन् । हरभजन सिंह भारतीय टेष्ट क्रिकेट इतिहासमा ह्याट्रिक गर्ने पहिलो बलर पर्दछन् । सन् १९९८ देखि २०१५ सम्म १ सय ३ टेष्ट खेलमा हरभजन सिंहले ४ सय १७ विकेट लिएका छन् । उनको एक इनिङमा ८–८४ तथा एक खेलमा १५–२१७ उत्कृष्ट प्रर्दशन रहेको छ ।

हरभजन सिंहले २५ पटक ५ माथि विकेट लिएका छन् । ५ पटक १० विकेट माथि लिएका छन् । २ सय ३६ ओडिआई खेलमा २ सय ६९ विकेट लिएका छन् । त्यस्तै २८ टि२० आई खेलमा २५ विकेट आफ्नो नाममा लेखाएका छन् ।
शाहिद अफ्रिदी पाकिस्तान

पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी एक सफल अलराउन्डर हुन् । लेग स्पिन बलिङ गर्ने अफ्रिदीले आक्रामक ब्याटिङ गर्ने गर्दथिए । समर्थकबाट बुम बुम अफ्रिदी को उप नाम पाएका उनले सन् १९९८ देखि २०१० सम्म मात्र २७ टेष्ट खेलेका उनले ४८ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ५–५२ थियो ।

सन् १९९६ देखि २०१५ सम्म ३ सय ९८ ओडिआई खेलमा अफ्रिदीले ३ सय ९५ विकेट लिएका छन् । जसमा करिअरको उत्कृष्ट प्रर्दशन ७–१२ छ । ९९ टि२० आईमा ९८ विकेट लिएका छन् । अफ्रिदी ब्याटिङका लागि पनि त्यतिनै सिपालु थिए । विशेष त आक्रामक र ठुला सट खेल्न बढी रुचाउथें ।

डेनियल भिटोरी न्युजिल्यान्ड

न्युजिल्यान्डका अलराउन्डर डेनियल भिटोरी एक सफल स्पिनर हुन् । उनले सन् १९९७ देखि २०१४ सम्म १ सय १३ टेष्ट खेलमा ३ सय ६२ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन इनिङमा ७–८७ र एक टेष्ट खेलमा १२–१४९ रहेको छ । उनले २० पटक ५ माथि र ३ पटक १० माथि विकेट लिएका थिए । २ सय ९५ ओडिआई खेलमा ३ सय ५ विकेट लिन सफल भएका थिए । जसमा उत्कृष्ट प्रर्दशन ५–७ रहेको छ । ३४ टि२०आई खेलमा ३८ विकेट लिएका छन् ।

शक्लेन मुश्ताक पाकिस्तान

शक्लेन मुश्ताक पाकिस्तान क्रिकेटका उत्कृष्ट स्पिनर हुन् । ओडिआईमा १ सय विकेट सर्वाधिक छिटो पुरा गर्ने कीर्तिमान उनको नाममा छ । उनले सन् १९९५ देखि २००४ सम्म ४९ टेष्ट खेलमा २ सय ८ विकेट लिएका छन् । मुश्ताकले १३ पटक ५ माथि विकेट लिएका छन् । त्यस्तै सन् १९९५ देखि २००३ सम्म १ सय ६९ ओडिआई खेल खेलेका उनले २ सय ८८ विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन ५–२० रहेको छ ।

अनिल कुम्बले भारत

पूर्व कप्तान तथा प्रशिक्षक अनिल कुम्बले भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल स्पिनर हुन् । कुम्बले सन् १९९० देखि २००८ सम्म १ सय ३२ टेष्ट खेलमा ६ सय १९ विकेट लिएका छन् । उनको इनिङमा १०–७४ तथा एक टेष्ट खेलमा १४–१४९ उत्कृष्ट प्रर्दशन हो । उनले ३५ पटक ५ माथि र ८ पटक १० माथि विकेट लिएका छन् । कुम्बलेले २ सय ७१ ओडिआई खेलमा ३ सय ३७ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ६–१२ रहेको छ ।

शेन वार्न अष्ट्रेलिया

अष्ट्रेलियाका शेन वार्न सर्वाधिक सफल स्पिनरमा पर्दछन् । शेन वार्नले सन् १९९२ देखि २००७ सम्म १ सय ४५ टेष्ट खेलमा ७ सय ८ विकेट लिएका थिए । उनको उत्कृष्ट प्रर्दशन इनिङमा ८–७१ र एउटा टेष्ट खेलमा १२–१२८ रहेको छ । वार्नले ३७ पटक ५ माथि र १० पटक १० माथि विकेट लिएका थिए ।

सन् १९९३ देखि २००५ सम्म १ सय ९४ ओडिआई खेलमा २ सय ९३ विकेट लिएका थिए । वार्न बल टर्न गर्न उक्त समयमा निकै माहिर खेलाडी थिए । उनको बलिङ कतिपय ब्याट्सम्यानले बुझ्न सक्दैन थिए ।

मुथैया मुरलीधरन श्रीलंका

श्रीलंका पुर्व स्पिनर मुथैया मुरलीधरन विश्व क्रिकेट इतिहासमा सर्वाधिक सफल र उत्कृष्ट बलर हुन् । मुरलीधरनको नाममा ओडिआई र टेष्टमा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान छ । सन् १९९२ देखि २०१० सम्म टेष्ट क्रिकेट खेलेका मुरलीधरनले १ सय ३३ टेष्ट खेलमा ८ सय विकेट लिएका थिए । उनको टेष्टमा उत्कृष्ट प्रर्दशन इनिङमा ९–५१ तथा एउटा टेष्ट खेलमा १६–२२० रहेको छ ।

मुरलीले टेष्टमा ६७ पटक ५ माथि विकेट लिएका छन् । २२ पटक १० माथि विकेट लिएका थिए । सन् १९९३ देखि २०११ सम्म ३ सय ५० ओडिआई खेलमा ५ सय ३४ विकेट आफ्नो नाममा लेखाउन सफल भएका थिए । ओडिआईमा उत्कृष्ट प्रर्दशन ७–३० रहेको छ । त्यस्तै १२ टि२० आई खेलमा १३ विकेट लिएका छन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्