फोनमा कुरा गर्दागर्दै ढले कन्नड फिल्मका चर्चित अभिनेता, अस्पतालमा मृत घोषित


 



काठमाडौं, जेठ २६
कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सरजाको निधन भएको छ । उनको ३९ वर्षको उमेरमा बेंगलुरुको एक नीजि अस्पतालमा निधन भएको हो । मृत्युुपछि उनको कोभिड–१९ परीक्षण पनि गरिएको छ जसको रिपोर्ट हाल प्राप्त भएको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गर्दागर्दै ढलेका थिए । त्यति नै बेला उनलाई पसिना आउन थाल्यो र उनी अचानक ढले । उनलाई तत्काल अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो । उनको अन्तिम संस्कार आज गरिने कार्यक्रम छ ।

चिरञ्जिवीको निधनको खबर फैलने बित्तिकै बेंगलुरुस्थित अपोलो अस्पताल बाहिर उनका प्रशंसकको भीड लागेको छ ।

फिल्मी परिवारसँग सम्बन्ध राख्ने चिरञ्जिवीले सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका थिए । आफ्नो करियरमा उनले २२ वटा कन्नड फिल्ममा काम गरे ।

उनको अन्तिम रिलिज भएको फिल्म ‘शिवार्जुन’ थियो जुन लकडाउन हुनु केहि दिनअघि रिलिज भएको थियो । उनका हजुरबुवा शक्ति प्रसाद र काका अर्जुन सरजा पनि फिल्मी स्टार हुन् । यस्तै, उनका भाइ ध्रुव सरजा पनि यो क्षेत्रमा निकै सक्रिय हिरो हुन् ।

उनको विवाह दुई वर्ष अघि कन्नड फिल्म अभिनेत्री मेघना राजसँग भएको थियो ।

प्रकाशित मिति: २६ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्