किन बार्सिलोना फर्कन चाहन्छन् नेयमार ?


 


काठमाडौं, जेठ २७

कुनैबेला स्पेनिस महारथी बार्सिलोनामा रहेका ब्राजिली स्टार नेयमार कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । तर, जब उनी पिएसजी गए, उनी बार्सिलोना फर्कन आतुर रहेको समाचार आइरहे ।

भर्खरै मात्र ब्राजिली स्टार नेयमारले सहकर्मीसँग यो सिजनको अन्त्यसँगै जसरी पनि बार्सिलोना फर्कन चाहेको बताएका छन् ।

स्पेनिस पत्रिका मुन्डो डिर्पोटिभोका अनुसार २८ वर्षीय नेयमारले पछिल्लो समय ला लिगा फर्कने बिषयमा टिमका सहकर्मीसँग खुलेर छलफल गरिरहेको र सम्झौताको विषयमा छिट्टै सहमति जुट्नेमा विश्वस्त रहेको बताएका छन् । पीएसजीमा नेयमारको सम्झौता २०२२ सम्म रहेको छ । फ्रान्सेली क्लबले पटक पटक नयाँ सम्झौताका लागि प्रस्ताव गरेपनि नेयमारले मानेका छैनन् ।

यस्तै नेयमारले आफ्ना सहकर्मीसँग बार्सिलोना फर्कनुअघि पीएसजीबाट च्याम्पियन्स लिगको उपाधि जित्न चाहेको बताएका छन् । पीएसजी यो सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

कोरोना कहर सुरु हुनुअघि पीएसजीले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डमाथि २–० को जित निकाल्दा नेयमारले पहिलो गोल गरेका थिए । पहिलो लेगमा भने पीएसजीले २–१ को हार बेहोरेको थियो । पीएसजीले यसपटक च्याम्पियन्स लिग जितेमा नेयमारलाई अन्यत्र जाने रोक्ने छैन ।

नेयमार २०१७ मा विश्व कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । पेरिस आएको पहिलो सिजन देखि नै उनी त्यहाँ खुसी हुन सकेका छैनन् । पछिल्लो समय एमबाप्पेको अस्वभाविक उदय र इकार्डीको स्थायी अनुबन्धनले पनि नेयमारलाई बाटो खोलिदिएको छ ।

यता बार्सिलोनाले अघिल्लो वर्ष नेयमारलाई पुनः क्लब फर्काउने प्रयास गरेपनि असफल बनेको थियो । बार्सिलोनाले १ सय मिलियन पाउण्डसँगै इभान राकिटिच, जियन क्लेयर टाडिबो र औसमाने डेम्बेले दिने तयारी गरेपनि सफल हुन सकेको थिएन । यसपटक कोरोना संक्रमणका कारण क्लबलाई परेको आर्थिक भारले नेयमारलाई अनुबन्धन गर्ने सम्भावना न्यून छ ।

नेयमारले पीएसजीका लागि ८० खेल खेल्दा ६९ गोल गरेका छन् । उनले पीएसजीबाट तीनपटक फ्रेन्च लिग वान तथा कोपा डि फ्रान्स, कोपा डि लिग र ट्रफी डि च्याम्पियन्स समान एक(एक पटक जितेका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्