सुन्दरी खेलाडी अन्नाः जसको खेल र रुपले सबैलाई लोभ्यायो


 


न्यूयोर्क, जेठ २७ (रोयटर्स)

अन्ना कोर्निकोभाको खेलको चर्चा कम हुन्छ, बरू बढी चर्चा उनको रुपकै हुन्छ । तर विश्व टेनिसमा उनको प्रभाव कति धेरै छ भने त्यसको छेउछाउ राम्रो खेल्ने खेलाडी पनि पुग्न सक्दैनन् ।
डब्लूटीए टुरमा अन्ना कोर्निकोभाले एक टेनिस खेलाडीको हैसियतले एउटै पनि उपाधि जित्न सकिनन् । तर उनको खेलजीवन कस्तो छ भने त्यससँग अन्य कोही पनि खेलाडीको जीवन तुलना गर्न सकिन्न ।
यी रुसी सुन्दरी सुनौलो कपालकी धनी थिइन् । सन् १९९८ मा पिपुल म्यागाजिनले उनलाई विश्वकै टप ५० सुन्दर मानिसमा राखेको थियो । त्यतिमात्र होइन, ईएसपीएनले त उनलाई महिला खेलाडीमध्ये सबैभन्दा कामुक भनेको थियो । फोर्ब्सदेखि स्पोर्ट्स इलुस्ट्रेडको कभरमा कोर्निकोभा नै छाउने गर्थिन् । उनी वास्तवमै कति धेरै लोकप्रिय थिइन्, यसको एउटा राम्रो उदाहरण यो रहेको छ । सन् २००१ मा उनको डिजिटल तस्बिर खुबै तीव्र गतिमा फैलियो, तर यो वास्तवमा भाइरस थियो । यसले विश्वका हजारौं कम्प्युटरलाई संक्रमित गरेको थियो भने पूरा विश्वकै इलेक्ट्रोनिङ मेल सिस्टम सुस्त बनाएको थियो । उनले प्रायोजन अनुबन्ध र मोडलिङको मद्दतमा करोडौं डलर कमाइन् । जति टेनिस खेलेर कमाउन सकिनन् ।

पप स्टार एनरिक इग्लेसिससँगको प्रेम सम्बन्धका कारण पनि उनी उत्तिकै चर्चामा रहिन् । उनीहरूका तीन सन्तान पनि छन् । तेस्रो सन्तान मासालाई कोर्निकोभाले चार महिनाअघि मात्र जन्मदिएकी हुन् । तीन वर्षअघि उनले जुम्ल्याहा निको र लुसीलाई जन्म दिएकी थिइन् ।

सन् २००० मा उनले ‘मी, माइसेल्फ एन्ड आइरिन’ नामको सिनेमा छोटो भूमिका पनि खेलिन् । सन् २०११ मा अमेरिकी टेलिजिभजनहरूमा प्रसारित तौल घटाउने कार्यक्रम ‘द बिगेस्ट लुजर’ मा कोर्निकोभाले प्रशिक्षकको भूमिका पनि निभाइकी थिइन् । त्यसो त उनका आलोचक कोर्निकोभालाई टेनिस खेलाडी नै मान्दैनन्, किनभने उनले एउटै उपाधि पनि जित्न सकिनन् ।

तर एउटा तथ्य के निश्चित छ भने सानोमा बिछट्टै प्रतिभाशाली खेलाडी भने थिइन् । मस्कोतिर छँदा ५ वर्षकै उमेरमा उनले टेनिस र्‍याकेट समातिसकेकी थिइन् । त्यसपछि त उनी अमेरिकाको फ्लोरिडा लागिहालिन्, निक बालेटेरीको टेनिस एकेडेमीमा भर्ना हुन् । सन् १९९५ मा उनले १४ वर्षको उमेरमा डब्लूटीए टुरमा डेब्यु गरिन् । लगत्तै अर्को वर्ष उनी यूएस ओपनमा ग्रान्ड स्लाम टेनिसको डेब्यु गरिन् अनि चौथो चरणसम्म पुगिन् ।

त्यतिबेला उनी शीर्ष वरीयताकी जर्मन खेलाडी स्टेफी ग्राफसँग पराजित भएकी थिइन् । त्यसैले सन् १९९६ मा उनलाई घोषणा गरियो, सबैभन्दा उत्कृष्ट उदीयमान खेलाडी । त्यसको पनि एक वर्षपछि उनी विम्बल्डनको सेमिफाइनलसम्म पुगिन् र यो नै ग्रान्ड स्लाम टेनिसमा उनको सबैभन्दा उत्कृष्ट व्यक्तिगत प्रदर्शन रह्यो । उनले भलै एउटै पनि उपाधि जितिनन् र तर सन् २००० मा उनको वरीयता शीर्ष आठभित्र रहेको थियो । कोर्निकोभाले चाँडै चोट पनि बोकिन् ।

त्यसै कारण उनले हतारमा संन्यास घोषणा गर्नुपरेको थियो । सन् २००३ यता त उनले डब्लूटीए टुरमा खेलेकी पनि छैनन् । उनले पक्कै पनि एउटै सिंगल्स उपाधि जितिनन्, तर उनको नाममा १६ डबल्स उपाधि भने छ । त्यसमा दुई उपाधि उनले स्विस स्टार मार्टिना हिंगिजसँग मिलेर अस्ट्रेलियन ओपनमा जितेकी थिइन् । सन् १९९९ को डबल्स वरीयतामा उनी शीर्षस्थानसम्म पुगेकी थिइन् । नम्बर १ टेनिस खेलाडी भएकी स्विस हिंगिज मान्छिन्, कोर्निकोभा त्यस्ता खेलाडी हुन्, जसले रुसमा अन्यलाई टेनिस खेलमा प्रवेश गर्न प्रेरित गरेको थियो । अझ भनौं, रुसबाट एकपछि अर्को महिला टेनिस खेलाडी निस्कनुमा सबैभन्दा ठूलो हात कोर्निकोभाकै थियो । हिंगिज भन्छिन्, ‘कोर्निकोभा राम्री खेलाडी थिइन्, अझ भनौं टिम खेलाडी । मैले उनीसँग दुई सफल वर्ष बिताएँ । उनले नै रुसमा टेनिसप्रति आकर्षण बनाएको थियो र उनलाई नै पछ्याएर अन्य रुसी खेलाडी बाहिर निस्के । त्यसपछि त रुसी टेनिस खेलाडीको एकपुस्ता नै तयार भयो । मलाई उनीसँग मिलेर खेल्दा खुबै मज्जा आउने गर्थ्यो ।’

फ्रेन्च ओपन र यूएस ओपनका पूर्व विजेता स्भेटलाना कुज्नेट्सोभा पनि के मान्छिन् भने रुसी महिला टेनिसबारे इतिहास लेख्न हो भने त्यसमा सबैभन्दा पहिले नाम आउने छ, तिनै कोर्निकोभाको । उनी भन्छिन्, ‘कोर्निकोभाकै कारण रुसमा टेनिस खुबै लोकप्रिय भयो, विशेषतः महिलाबीच । धेरैले उनकै बाटो पछ्याए । मेरा लागि पनि उनी नै सबैभन्दा ठूलो प्रेरणा थिइन् ।’ कुज्नेट्सोभा के पनि मान्छिन् भने कोर्निकोभा राम्रा खेलाडी पनि थिइन, भलै कुनै उपाधि जित्न सकिनन् । उपाधि जित्नु मात्र राम्रा खेलाडीको मापन कहाँ हो र ?

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्