विश्व क्रिकेटका उत्कृष्ट ओपनर जोडी


 


काठमाडौं, जेठ २९

ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात दिदै ठुलो इनिङ खेलेको खण्डमा कुनै पनि टोलीलाई विशाल योगफल तयार पार्न र पुरा गर्न सहज हुन्छ । सिमित ओभरको इतिहासमा जतिपनि विशाल योगफल बनेका र पुरा भएका छन् त्यसमा ओपनर ब्याट्सम्यानको प्रर्दशन उत्कृष्ट रहँदै आएको छ ।

ओपनर सस्तैमा आउट हुँदा त्यसको असर मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानमा पर्न जान्छ । टोली सस्तैमा समेटिन सक्छ । विपक्ष्य टोलीको उत्कृष्ट बलरले नयाँ बलको साथ बलिङ गर्ने हुँदा त्यसको सामना गर्न सुरुवाती समय ओपनरलाई पक्कै सहज हुँदैन । तर राम्रो ब्याट्सम्यानलाई ओपनिङ ब्याटिङ गर्न उपयुक्त मानिन्छ । ओपनर ब्याट्सम्यानले कुनै दबाब विना आफ्नो शैलीको क्रिकेट खेल्न पाउँछ ।

एक अर्कालाई राम्रोसँग बुझेका दुवै खेलाडीले ओपनर जोडीमा सफल हुन सक्छन् । राम्रो साझेदारी गर्नको लागि दुवै तर्फबाट रन जोड्न आवश्यक पर्छ । एकतर्फबाट कमजोर ब्याट्सम्यानले लगातार बल डट खादा हुँदा त्यसको असर र दबाब अर्कोतर्फबाट रन जोडी रहेको राम्रो ओपनर ब्याट्सम्यानलाई पर्न जान्छ । त्यस्तै ओडिआई क्रिकेट इतिहासका सर्वाधिक १० सफल ओपनर जोडी यस प्रकार छन् ।

डेविड वार्नर र आरोन फिन्च अष्ट्रेलिया

अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेविड वार्नर र कप्तान आरोन फिन्च वर्तमान समयमा उत्कृष्ट जोडी मध्यका एक मानिन्छन् । आक्रामक शैलीमा ब्याटिङ गर्ने हुँदा दुवै क्रिजमा रहँदा विपक्ष्य जुन सुकै बलरलाई दबाब रहन्छ । फिन्च र वार्नरले सन् २०१४ देखी ओपनिङ गर्दै आएका छन् । ६५ इनिङमा यी दुई जोडीले कुल ३ हजार २ सय ९७ रन जोडेका छन् । जसमा १० शतक र १४ अर्ध शतक सामेल छ । उत्कृष्ट साझेदारी अविजित २ सय ५८ रन रहेको छ । जुन साझेदारी गत जनवरीमा भारतविरुद्ध गरेका थिए ।

सनथ जयसूर्या र मार्भन अटापट्टु श्रीलंका

श्रीलंका पुर्व सफल ब्याट्सम्यान सनथ जयसूर्या र मार्भन अटापट्टुले सन् १९९७ देखि २००७ सम्म ओपनिङ जोडीका रुपमा खेलेका थिए । यी दुइले ७९ इनिङमा ओपनिङ साझेदारी गर्दै कुल ३ हजार ३ सय ८२ रन जोडेका छन् । जसमा ८ शतक र १९ अर्ध शतक सामेल छ । सन् २००३ मा यी दुईले अष्ट्रेलियाविरुद्ध २ सय ३७ रनको ओपनिङ साझेदारी गरेका थिए । जुन यी दुइ जोडीबीचको उच्च ओपनिङ साझेदारीमा पर्छ ।

ज्योफ मार्श र डेविड बून अष्ट्रेलिया

अष्ट्रेलियाका पुर्व ओपनर ब्याट्सम्यान ज्योफ मार्श र डेविड बूनले सन् १९८६ देखी १९९२ सम्म ओपनर जोडीको रुपमा मैदान उत्रेका थिए । ८८ इनिङमा साझेदारी गर्दै कुल ३ हजार ५ सय २३ रन जोडेका छन् । जसमा ७ शतक र २५ अर्ध शतक सामेल छ । यी दुईबीचको उच्च साझेदारी २ सय १२ रन रहेको छ ।

मार्क वा र एडम गिलक्रिष्ट अष्ट्रेलिया

अष्ट्रेलियाका पुर्व कप्तान एडम गिलक्रिष्ट र मार्क वाले सन् १९९८ देखि २००२ सम्म ओपनिङ जोडीको रुपमा ब्याटिङ गरेका थिए । यी दुइ जोडीले ९३ इनिङमा साझेदारी गर्दै ३ हजार ८ सय ५३ रन जोडेका छन् । औसत ४१ को रहँदा ८ शतक र २० अर्ध शतक सामेल छ । यी दुई जोडीबीचको उच्च साझेदारी २ सय ६ रन रहेको छ ।

विरेन्द्र सहवाग र सचिन तेन्दुलकर भारत

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकर र विरेन्द्र सहवागले सन् २००२ देखि २०१२ सम्म ओपनर जोडीको रुपमा ब्याटिङ गरेका थिए । सचिन र सहवागले ९३ इनिङमा ओपनिङ गर्दै ३ हजार ९ सय १९ रन जोडेका थिए । जसमा १२ शतक र १८ अर्ध शतक सामेल छ । उत्कृष्ट साझेदारी यी दुई ओपनरबीच १ सय ८२ रन रहेको छ ।

हसिम अमला र क्विन्टन डी कक दक्षिण अफ्रिका

दक्षिण अफ्रिका विकेटकिपर क्विन्टन डी कक र हसिम अमलाले सन् २०१३ देखि २०१९ सम्म ओपनर जोडीका रुपमा मैदान उत्रेका थिए । ९३ इनिङमा ३ पटक अविजित रहँदै ४ हजार १ सय ९८ रन जोडेका छन् । जसमा ११ शतक र १४ अर्ध शतक सामेल छ । यी दुईले सन् २०१७ मा बंगलादेशविरुद्ध २ सय ८२ रनको अविजित साझेदारी गर्दै कीर्तिमानी जित दिलाएका थिए । अमलाले दक्षिण अफ्रिका टोलीबाट सन्न्यास लिई सक्दा डी कक सिमित ओभरका कप्तान बनेका छन् ।

शिखर धवन र रोहित शर्मा भारत

भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान रोहित शर्मा र शिखर धवन वर्तमान क्रिकेटका उत्कृष्ट ओपनर जोडी मानिन्छन् । सन् २०१३ देखि रोहित र शिखरले ओपनर जोडीको रुपमा ब्याटिङ गर्दै आएका छन् । हालसम्म कुल १ सय ७ इनिङमा आपनिङ गर्दै ४ हजार ८ सय २ रन बनाइसकेका छन् । जसमा १६ शतक र १४ अर्ध शतक सामेल छ । यी दुई ओपनरबीचको उत्कृष्ट साझेदारी २ सय १० रन रहेको छ । जुन साझेदारी सन् २०१८ को एसिया कपमा पाकिस्तानविरुद्ध गरेका थिए ।

गोर्डन ग्रीनिज र डेसमन्ड हेनेस वेस्ट इन्डिज

वेस्ट इन्डिजका पुर्व ब्याट्सम्यान गोर्डन ग्रीनिज र डेसमन्ड हेनेस ओडिआई क्रिकेट इतिहासमा सफल ओपनर जोडी मानिन्छन् । यी दुईले सन् १९७९ देखि १९९१ सम्म ओपनिङ जोडी गरेका थिए । १ सय २ इनिङमा साझेदारी गर्दै कुल ५ हजार १ सय ५० रन जोडेका थिए । जसमा १५ शतक र २४ अर्ध शतक सामेल छ । यी दुईबीचको उत्कृष्ट साझेदारी १ सय ९२ रनको अविजित रहेको छ ।

एडम गिलक्रिष्ट र म्याथ्यु हेडेन अष्ट्रेलिया

अष्ट्रेलियाका पुर्व कप्तान एडम गिलक्रिष्ट र म्याथ्यु हेडेन ओडिआई क्रिकेट इतिहासमा सर्वाधिक दोस्रो सफल ओपनर जोडी हुन् । यी दुईले सन् २००१ देखि २००८ सम्म ओपनिङ जोडीको रुपमा ब्याटिङ गरेका थिए । कुल १ सय १४ रनमा ओपनिङ साझेदारी गर्दै कुल ५ हजार ३ सय ७२ रन बनाएका छन् । जसमा १६ शतक र २९ अर्ध शतक सामेल छ । उत्कृष्ट साझेदारी १ सय ७२ रनको रहेको छ ।

सचिन तेन्दुलकुर र सौरभ गांगुली भारत

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकर र सौरभ गांगुलीलाई ओडीआई क्रिकेट इतिहासकै सर्वाधिक सफल ओपनर जोडी मानिन्छ । यी दुई ब्याट्सम्यानले सन् १९९६ देखि २००७ सम्म ओपनिङ जोडीको रुपमा ब्याटिङ गरेका थिए । १ सय ३६ खेलमा ओपनिङ साझेदारी गर्दै ६ हजार ६ सय ९ रन जोडेका छन् । २१ शतक र २३ अर्ध शतक सामेल रहेको छ । उत्कृष्ट साझेदारी २ सय ५८ रन रहेको छ । जुन साझेदारी सन् २००१ मा केन्याविरुद्ध गरेका थिए ।

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्